कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघ्यो: कांग्रेस-Sutra News

कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघ्यो: कांग्रेस

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी उदासिनताले पराकाष्ठा नाघेको बताएको छ। कोभिड-१९ अनुगमन समितिले मंगलबार (२० असोज) मा गरेको पत्रकार सम्मेलनमा संयोजक डा.प्रकाशशरण महतले सो कुरा बताएका हुन्।



‘कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको छ। संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण र आइसोलेसनको व्यवस्था गर्नु त परै जाओस् जो परीक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेसनको व्यवस्था सरकारले गरेको छैन,’ डा.महतले भने।

उनले विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको बताउँदै सहमहामन्त्रीसमेत रहेका डा.महतले यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको बताए।

उनले भने, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ। जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ।’

सरकारको वेवास्ताकै कारण आगामी दिनमा कोरोना संक्रमण झन बढ्ने खतरा रहेको औंल्याउँदै संयोजक डा.महतले जसको मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट