सिन्धुली- सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो। सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना संक्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस संक्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि संक्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए।
उनले भने, ‘कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ। यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना संक्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हौं।’
हालसम्म सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सात निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिए। मंगलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन। ७७ जना कोरोना निको भएर घर फर्किएका छन्। अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ। जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस संक्रमितको संख्या उकालो लागिरहेको छ।
यस्तै बन्दाबन्दी सुरु भएदेखि हालसम्म विदेशबाट एक हजार ४८४ जना जिल्लामा आएका छन्। भारतबाट १०० महिला र ६६३ पुरुष गरी ७६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए। अन्य मुलुकबाट १५३ महिला र ६३२ पुरुष गरी ६८५ जना जिल्लामा आएको जानकारी दिए।
विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरूको पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको जानकारी दिए। यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उनले जाकारी दिए।
यता कोरोना संक्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ। कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ। कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासमम्म कार्यालय बन्द रहने जनाएकोे छ। जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन्।