केन्द्रीय प्रसारण नपुगेको विकट क्षेत्रमा सौर्यबत्ती जडान-Sutra News

केन्द्रीय प्रसारण नपुगेको विकट क्षेत्रमा सौर्यबत्ती जडान

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

मंगलबारे- केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ। सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो।



सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी खुसी भएका छन्। नगरप्रमुख रणबहादुर राईले विकट मानिएको सो क्षेत्रमा बत्ती जडान भएपछि आफूलाई समेत खुसी मिलेको बताए। अन्धकार गाउँमा हाल उज्यालोको प्रवेश भएको छ। गाउँ नै झिलीमिलीमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन्।

विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाढा भएकाले त्यस ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार हुनसकेको थिएन। विद्युत् विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए।

विद्यार्थीसमेत रातमा मट्टितेल लगाएको टुकीकै भरमा अध्ययन गर्न बाध्य थिए। अब भने धेरै सहज भएको भन्दै विद्यार्थीसमेत खुस िभएका छन्। बत्ती नहुँदा इन्टरनेटसमेत नभएका कारण सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका थिए।

मोबाइल भए पनि चार्ज गर्न नपाएपछि चलाउन नपाएको सो क्षेत्रका बासिन्दाको भनाइ छ। अब भने मोबाइल चलाउन पाइने भन्दै सो क्षेत्रका युवायुवतीसमेत खुसी भएका छन्।  युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाले समेत खुसी मनाएका छन्।  

यतिञ्जेलसम्म बत्ती बाल्न नपाएका स्थानीयवासीले आफ्नो लगानीबिना नै बत्ती बलेको भन्दै खुशी व्यक्त गरेका हुन्। नगरपालिकाले समेत सो क्षेत्रका बासिन्दाको दैनिकको दुखेसो र गुनासो बढेपछि सौर्यबत्ती जडान गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट