आर्मेनिया र अजरबैजानबीचको युद्ध मैदानबाट रिपोर्टिङ-Sutra News

आर्मेनिया र अजरबैजानबीचको युद्ध मैदानबाट रिपोर्टिङ

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

नोगोर्नो-काराबा- आर्मेनियाली अधिकारीहरुको भनाई छ कि, नागोर्नो-काराबाखको राजधानी स्टेपनाकियर्ट (दुबै देश यही क्षेत्रमा लडाईं लडिरहेका छन्)मा बमबारी भइरहेको छ। जबकि अजरबैजान भन्छ, उसको दोस्रो ठूलो शहर गान्जा आर्मेनियाली हमलाका कारण नराम्रोसँग तबाह हुन पुगेको छ।



यस्तो स्थितिमा बीबीसी रुसी सेवाको एउटा समूहले नोगोर्नो-काराबाखको केही क्षेत्रको स्थिति बुझ्यो। र, दुबै देशबीच जारी अहिलेको युद्धलाई नजिकबाट देख्यो। पत्रकारहरुको समूहले यहाँका मानिसहरुसँग कुराकानी पनि गर्‍यो।

कुराकानी गर्दै गर्दा यहाँ साइरनको आवाज आइरहेको छ। सायद गोलाबारी हुँदैछ भन्ने कुराको चेतावनी होला यो। आर्मेनिया र काराबाखबीचको सम्पर्क विच्छेद गर्ने कोसिसमा अजरबैजानी सेनाले यो शहरमा रहेको पुलमा हमला गरिरहेको छ।

उत्तरतर्फको सीवन तालको किनारामा दुई मार्ग छन्, जो आर्मेनियादेखि काराबाखतिर लाग्छ। यो अजरबैजानले नियन्त्रण गरेको क्षेत्रको निकै नजिक छ।

संघर्षको पहिलो दिनदेखि नै यो मार्ग हुने सम्पर्कलाई बिच्छेद गराइएको छ। द लाचिन कोरिडर नागार्नो-काराबाखको राजधानी स्टेपनाकियर्टबाट आर्मेनियाली राजधानी येरेबनको यो मुख्य मार्ग हो।

बमबारी र कानको जाली फुटाउने आवाज

आइतबार विहानै हामी स्टेपनाकियतर्फ जान सकेका थियौँ। तर, बेलुकी त्यही बाटोबाट फर्कँदा हाम्रो यात्रा असुरक्षित भइसकेको थियो। सडकमा काम गर्ने मानिसहरु नदीमा गिट्टीबालुवा हालिरहेका थिए, ता कि सवारी साधनका लागि अस्थायी नै भए पनि बाटो बनाउन सकियोस्।

bomb1.jpg

जब हामी लाचिनको केन्द्र नजिकै पुग्दै थियौँ, गोलावारीको नयाँ सिलसिला सुरु हुन थाल्यो। हवाई हमलाको चेतावनीयुक्त साइरन यति छिटोछिटो गरी बज्न थाल्यो कि, कानको जाली नै फुट्लाजस्तो भयो।  

त्यसैबीच एउटा पुलिस कार सडकमा दौडन थाल्यो। साइरन जडित कारको माइकबाट चर्को स्वरमा मानिसहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा शरण लिन आग्रह गरिरहेको थियो।  

बीबीसी टोलीका लागि सबैभन्दा सुरक्षित सेल्टर सुपरमार्केटको अण्डरग्राउण्ड थियो। यसका मालिक नेलीले आफ्नो परिवारका साथ क्यालिफोर्नियामा १७ वर्ष बिताएपछि आफ्नै देश फर्कने निर्णय गरेका थिए।

दुई वटा खाट भएको कोठामा गोलभेँडा, चालमको ब्याग, ब्राण्डीका बोतल र सावेल थियो। विस्तारै-विस्तारै मानिसहरु यही कोठामा भरिन थाले। यहाँ स्थानीय मानिसहरु पनि शरण लिन आइपुगे। हामीजस्तै बाहिरिया पनि थिए, लाचिनमा रहँदै आएका उनीहरु नयाँ परिस्थितिका कारण आफ्नो यात्रा रोक्न बाध्य भए। 

नेलीले उनको अण्डरग्राउण्ड कोठामा सेल्टर लिन पुगेका सबैलाई खाना र कफी खुवाए।  

stepnarkiyat1.jpg

पश्चिमी शैलीको कोट लगाएको तिलचामले कपाल भएको एकजना पातलो जीउका मानिस मानिस त्यहाँ उभिइरहेको थियो। उनले लगाएको कोटले बताउँथ्यो कि, उनी बाहिरबाट यहाँ आएका हुन्। पहिलो नजरमा हामीलाई लाग्यो कि, उनीपनि पक्कै हामीजस्तै पत्रकार हुन्।

तर, केहीछिनमै हामीले थाहा पायौँ, ग्रेचिक अरमेनाकियान नामका उनी कलाकार पो रहेछन्। पहिलो काराबाख युद्धका बेला उनी विद्यार्थी रहेछन्। जब सन् २०१६ मा युद्ध हुँदै थियो, त्यो युद्धका अन्तिम दिनहरुमा उनी मस्कोमा रहेछन्।

आजकल भने उनी येरेवानमा बस्छन्। जब यहाँ लडाईं सुरु भयो, उनी येरेवानमा रहन चाहेनन्। उनलाई लाग्यो, यो युद्धमा मैले योगदान दिनुपर्छ। त्यसपछि लडाईंमा भाग लिन यहाँ आइपुगेका हुन्।

आउनु अघि उनले आफ्ना साथी र परिवारको सल्लाह मानेनन्। साथी र परिवारले उनलाई घरमै बस्न भने। उनले त्यो सल्लाहको मतलब गरेनन्। साथी र परिवारजनको भनाई यस्तो बेला घरमै रहनुपर्छ भन्ने थियो। उनले आफू काराबाख गएरै छाड्ने बताएर घर छाडे। उनी आज विहानमात्र त्यहाँ आइपुगेका रहेछन्।

sarnarthi1.jpg

हामीले गैचिकसँग सोध्यौँ, ‘तिमीले कहिल्यै युद्ध लडेका रहेनछौं। यस्तो मान्छे लडाईँको मैदानमा केका लागि आएका? कि तिमी सेनाको जवान जसरी लडाईंको मैदानमा स्वयंसेवी बन्न चाहन्छौं?

उनले जवाफ दिए, ‘तोपखानामा काम गर्ने सिपाहीहरुलाई सहयोग गर्न सक्छु म। तोप कतातिर प्रहार गर्ने, त्यसमा म सहयोग गर्न सक्छु। कुन दूरी कति टाढा हुन्छ, हामीजस्ता कलाकारलाई यो कुराको जानकारी हुन्छ।’

ग्रेचिकसँग कुनै सैन्य कौशल छैन। तर, उनलाई आशा छ, ‘शत्रुसँगको लडाईँका लागि उनलाई प्रशिक्षण दिइनेछ। उनी भन्छन्, ‘युद्धका बेला नागरिकले सेनालाई गर्ने हरेक सहयोग महत्वपूर्ण हुन्छ, चाहे त्यो नैतिक सहयोग होस्, चाहे शारीरिक। कुनै व्यक्तिमा अन्य कुनै खालको प्रतिभा र सीप छ भने त्यो पनि लडाईंमा निकै काम लाग्छ। मसँग जे प्रतिभा छ, त्यही कारण पनि यो लडाईंका लागि आफूलाई सक्षम ठान्छु।’

अजिवकै लाग्छ, नागोर्नो-काराबाखमा आएर लड्ने उनको निर्णय। तर, हामीले आफ्नै आँखाले देख्यौँ- उनीमात्रै होइन, विश्वका विभिन्न देशमा रहेका थुप्रै आर्मेनियाली नागरिकहरु मस्को हुँदै काराबाख आइपुगेका छन्।

यसअघि सामान्यतया येरेवान-मास्को रुटमा साना आकारका विमानले उडान भर्ने गर्थे। तर, जब युद्ध सुरु भयो, सेनालाई सहयोग गर्न आउने आर्मेनियालीहरुको संख्या ह्वात्तै बढ्यो। र, ठूलो आकारको बोइङ-७७७ को उडानबाट उनीहरु यहाँ आउन सुरु गरे।

५०-६० वर्ष उमेरका दर्जनौँ मानिसहरु यस्ता विमान प्रयोग गरेर नागोर्नो-काराबाख आइसकेका छन्। यसमध्ये ४ वर्षअघिको लडाईंमा समेत उनीहरु यसैगरी आएका थिए।

prasasak1.jpg

सेनाले रोकिदिन्छ पत्रकार

स्थानीय प्रशासनका एकजना प्रतिनिधि गेवगोर मन्त्साकनले हामीलाई बताए, ‘सिर्फ काराबाख शहरमात्र हाम्रो भविष्यका लागि महत्वपूर्ण छैन, अन्य शहरहरु पनि उत्तिकै महत्वपूर्ण छन्।’ उनले यो पनि बताए कि, अहिलेसम्म लाचिनमा कुनै-कुनै गम्भीरखालको गोलाबारी र नोक्सान भएको छैन।

स्थानीयहरुसँग कुराकानी गर्न खोज्दा सैन्य बर्दी लगाएका मानिसहरुले हामीलाई बारम्बार व्यवधान गरिरहे। युद्ध सुरु हुने बेलाचाहिँ उनीहरु यो इलाकामा धेरैभन्दा धेरै पत्रकार आइदिए हुन्थ्यो भन्ने चाहन्थे। तर उनीहरु अहिले पत्रकार देख्दा रिसाउँछन्।

उनीहरु यहाँबाट गरिने ‘लाइभ’ कार्यक्रम प्रसारण गरिएको पनि रुचाउँदैनन्। यसरी ‘लाइभ’ प्रसारण गर्दा शत्रुपक्षले उनीहरुको ‘लोकेसन’ सहजै पत्ता लगाउन सक्छ भन्ने डर उनीहरुमा देखिन्छ।

हामीले उनीहरुलाई भन्यौँ, ‘साधारण ब्याकग्राउण्डमा भिडियो खिच्नका लागि हामी आएका हौँ। त्यसैले, हामी कहाँ छौँ भन्ने कुरा उनीहरुले थाहा पाउने छैनन्।’

महिलाहरुको रोदन, सबल देखाउन पुरुष-प्रयास  

गोलाबारी कतिबेला बन्द होला, हामी त्यो क्षणको प्रतीक्षामा थियौँ। तर, हामी रहेको त्यो ‘अण्डरग्राउण्ड’ कोठामा भीड बढिरहेको थियो।

यहाँ विभिन्न प्रकारका मानिस आइपुगेका छन्। पत्रकारहरु स्टेपनाकियर्टबाट आएका छन्। केही शरणार्थीहरु अजरबैजानको सीमा नजिकका गाउँबाट आइपुगेका छन्। युद्ध मैदानमा स्वयंसेवक बनेर सहयोग गरौँला भनेर आएकाहरु पनि थुप्रै छन्।

यहाँ रहेका कोही महिलाहरु भने रोइरहेका छन्। उनीहरु आफ्नो घरमा पुगेको क्षतिका कारण असाध्यै दुखित छन्। कोही भने कहिले घर फर्कन पाइएला भनेर कुराकानी गरिरहेका भेटिन्छन्।

Road1.jpg

कोही मानिसचाहिँ ‘अण्डरग्राउण्ड’ कोठाको ढोकानिर बसेर चुरोट पिइरहेका छन्। ढोकैमा बसेर चुरोट पिउँदै उनीहरु यो देखाउने कोसिस गरिरहेका छन् कि, युद्ध सुरु भए पनि उनीहरुलाई डरचाहिँ फिटिक्कै लागेको छैन। उनीहरु भन्छन्, ‘सेल्टर लिन आए पनि बमवारी स्टेपनाकियरटमा भइरहेको छ नि। हामी यहाँ किन डराउने?’

तर, उनीहरुले यति के भनेका थिए, हामी बसेको घरको नजिकै एउटा बम बिस्फोट भयो। ‘अघिसम्म डराउनु पर्दैन’ भनेर गफ दिइरहेका उनीहरु त्यसपछि हतपत गर्दै भित्र पसिहाले।

प्रत्येक रात बमबारी र पीडा

निकै प्राचीन शहर हो शुषा। यो शहर स्टेपनाकियर्टबाट गाडीमा जाँदा १०-१५ मिनेटको दूरीमा पुगिन्छ। स्टेपनाकियर्ट गहिरो ठाउँमा छ भने शुषा पहाडमाथि। यहाँ अलिक कम गोलाबारी हुन्छ। तर, जब बमबारी हुन थाल्छ, शरणका लिनका लागि ‘अण्डरग्राउण्ड’ स्थल पाउन मुस्किल हुन्छ।

शुषास्थित जुन सांस्कृतिक केन्द्रमा मानिसहरुले शरण लिएका छन्, आइतबार त्यो ठाउँमा पनि गोलाबारी भयो। नागोर्नो-काराबाख गणराज्यको सरकारले दाबी गरेअनुसार बमबारीबाट स्टेपनाकियर्ट र शुषाका गरी कम्तीमा ४ जनाले ज्यान गुमाए।

शुषाबाट स्टेपनाकियर्ट मज्जासँग देख्न सकिन्छ। यहाँ बसेर हामीले केही समय छायाङ्कन गर्यौँ। हो, हामी त्यहाँ रहेका बेला गोलाबारी भएन। तर, हामीलाई थाहा छ, स्टेपनाकियर्टमा हरेक दिनको विहान र साँझपख गोलाबारी हुने गर्छ।

स्टेपनाकियर्टमा रहेका एक जना पत्रकार मित्रका अनुसार यहाँको स्थिति दिनप्रतिदिन खराब हुँदैछ। यहाँका अधिकांस मानिस बृद्ध उमेरका छन्। उनीहरु अजरबैजानको सीमावर्ती गाउँबाट यहाँ पुगेका हुन्।

राया गेवोर्कियन रुसी शिक्षक हुन्। गेवोर्कियन भनाईमा, उनलाई स्थानीय प्रशासनले फोन गरेर यहाँ (स्टेपनाकियर्ट) मा जान भन्यो। खासमा सकभर कम मृत्यु होस् भनेर स्थानीय प्रशासनले त्यता पठाएको हो।

छोरो कता छ, आमालाई थाहा छैन

सन् १९८८ मा उनले अजरबैजान छाड्नु पर्‍यो। सन् १९९२ र २०१६ मा चाहिँ नागोर्नो-काराबाखबाट निकालिनु पर्‍यो। अहिले चौँथो पटक उनी आफ्नो घर छाड्न बाध्य भएकी छन्।

उनका दुई छोरा युद्ध मैदानमा छन्। उनलाई थाहा छैन, युद्ध मैदानमा रहेका उनका छोरा जिउँदै छन् वा मरिसके। किनकि छोराहरुसँग उनको कुराकानी हुन सकेको छैन।

Bridge1.jpg

यहाँ रहेका शरणार्थीमध्येकी हुन्, ऐडा मेलकानियन। उनी पनि उत्तिकै चिन्तित छिन्। नहोउन् पनि किन? उनको १८ वर्षका छोरा सेनामा भर्खर भर्ती भएका छन्। उनका एकजना भाइ पनि लडाईंमा स्वयंसेवकका रुपमा खटिएका छन्।

ऐडाका भनाईमा, केही दिन पहिले उनको भाइसँग कुराकानी भएको थियो। कुराकानीका क्रममा भाइले बताएका थिए, कुराकानी हुँदै गर्दा गोलाबारी सुरु भइसकेको छ। उनले भनेका थिए, ‘म हिँडेरै स्टेपनाकियर्ट जाने प्रयास गर्दैछु। किनभने, यहाँ यातायातका कुनै पनि साधन चलेका छैनन्।’

उनी भन्छिन्, ‘भाइले भनेअनुसार ऊ त्यतिबेलासम्म घाइते भएको थिएन। तर, उसको आवाज सुनेपछि उसलाई केही न केही भएको छ भन्ने लाग्यो।’ उनले थपिन्, ‘स्थिति एकदम भयाबह भइरहेको छ। शान्तिपूर्णरुपमा जीवन बिताइरहेका निहत्था मानिसमाथि पनि अमानवीय तरिकाले गोलाबारी गरिएको छ। यस्तो स्थिति देख्दादेख्दै पनि सारा विश्व किन चुप छ?’

आर्मेनिया-अजरबैजान द्वन्द्व

नागोर्नो-काराबाखलाई कसैले पनि स्वतन्त्र राज्यको रुपमा मान्यता दिएका छैनन्। आर्मेनियाले पनि मान्यता दिएको छैन। राज्यको मान्यता नपाएको येरेवनमा आर्मेनियाका प्रतिनिधि त छन्। तर दूतावास भने खोलिएको छैन। 

लडाईं सुरु भएको हक हप्ता बितिसकेको छ। ३० वर्षपछि पहिलो पटक टर्कीले अजरबैजानलाई समर्थन गर्ने संकेत दिएको छ।

अर्कोतर्फ रुस, फ्रान्स, अमेरिका,  युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, नेटोजस्ता मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरुले युद्धको अन्त्य गरी समस्या समाधानका लागि शान्तिपूर्ण वार्ताको माग गरेका छन्।

तर, टर्की र अजरबैजानले एकसाथ भनेका छन्, ‘वार्ता त्यतिबेलामात्र सुरु हुनेछ, जब आर्मेनियाले नागोर्नो-काराबासमाथिको कब्जा त्याग्नेछ। राज्यको मान्यता प्राप्त नगरेको गणराज्यबाट आर्मेनियाको सुरक्षा बल फिर्ता होओस्। किनभने, अन्तर्राष्ट्रिय कानुनअनुसार सो क्षेत्र अजरबैजानको हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट