हजारौं दासहरूको मुक्तिको कथा ‘मोक्षभूमि’-Sutra News

हजारौं दासहरूको मुक्तिको कथा ‘मोक्षभूमि’

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्ल देवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ।



त्यस उथलपुथलसँगै आर्य-खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ। बहससँगै सुरु हुन्छ, मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा।

यिनै विषयलाई कथाको रुपमा आफ्नो पहिलो उपन्यास मोक्षभूमिमा उनेका छन्, राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालले। किताब पब्लिसर्सले यसै हप्तादेखि सोही उपन्यास बजारमा ल्याएको छ।

लेखक दाहालका भनाईमा, ‘मोक्षभूमि’ को कथा संवत १२८० बाट सुरु हुन्छ। यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो। र, हो, त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन पनि।

‘मोक्षभूमि’ ती मान्छेहरुको सपनाको कथा हो, जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ। तर, स्वयं ती मान्छेहरुको इतिहास भने गुमनाम छ।

’गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ’ दाहाल भन्छन्, ‘तर यो ऐतिहासिक उपन्यास होइन। यो एउटा खास समय, सत्ता र सपनाको कथा हो।’

मुक्त दासहरु कता जान्छन्? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन्? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो? यस्ता अनेक प्रश्नमाथि उपन्यासमा विमर्श गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट