

काठमाडौं- बुधबार सेयर बजार उकालो लागेको छ। आज विशेषगरी लगानीकर्ताहरु विकास बैंक र हाइड्रोपावर समूहमा तिर लागेका छन्।
हाइड्रोपावर समूहको सेयरमा लगानीकर्ताको आकर्षण रहेको छ। आइपीओ मूल्यभन्दा तल झरेको हाइड्रोपावरका सेयरहरु पछिल्लो केहि दिन यता क्रमशः उकालो लागि रहेको छ। यसैगरी, विकास बैंक समूह पनि उकालो लागेको छ। वित्तीय प्रणालीमा पर्याप्त लगानी गर्ने पैसा भएकाले पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल देखिएको छ।
बुधबार नेप्से सूचक १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा आइपुगेको छ। १९५ कम्पनीको ३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ करोड २६ लाख ९९ हजार ५५३ कित्ता सेयर कारोबार भएको हो।
उत्पादनमूलक र माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन्। विकास बैंक र हाइड्रोपावर समूहमा चम्किएका छन्। वाणिज्य बैंक समूहको सूचक पनि सकारात्मक देखिएको छ । करिब ३ दर्जन हाइड्रोपावर कम्पनीहरुको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। धेरैमा सकारात्मक सर्किट देखिएको छ । खरिदबिक्री रकममा अरुण काबेली अग्रस्थानमा छ । यसको १५ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।