जनस्वास्थ्यविद् भन्छन्- ‘काठमाडौंमा अझै विकराल रुप लिन सक्छ, सकभर भीडभाड कम गरौं’-Sutra News

जनस्वास्थ्यविद् भन्छन्- ‘काठमाडौंमा अझै विकराल रुप लिन सक्छ, सकभर भीडभाड कम गरौं’

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- केही महिनाअघिसम्म कोरोना संक्रमणबाट जोगिन मानिसहरू काठमाडौंलाई सुरक्षित स्थान ठान्थे। पहिलो लकडाउनमा घर फर्किएकाहरू बाहिरी जिल्लामा संक्रमण देखिन थालेपछि पुनः काठमाडौं नै फर्कन थाले। जेठताका बाँकेको नरैनापुर हटस्पट बन्दा पनि काठमाडौंमा भने अवस्था सामान्य नै थियो।



वीरगञ्ज नै हटस्पट बन्दा पनि काठमाडौंमा त्यति ठूलो प्रभाव परेको देखिन्न थियो।

तर, अहिले नेपालमै सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा देखिन थालेका छन्। हटस्पट बनेका वीरगञ्ज, नरैनापुरजस्ता ठाउँहरू सामान्य बन्दै जाँदा काठमाडौं भने जोखिम व्यहोरिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै काठमाडौं उपत्यकामा १ हजार १७ जना नयाँ संक्रमित थपिएका थिए। जबकि देशभर संक्रमित संख्या १५ सय ५१ मात्र थियो। मंगलबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा हालसम्म ३२ हजार ६ सय ८७ संक्रमित पुगेका छन्।

बुधबार पनि देशभर ३ हजार ४ सय ३९ थपिँदा काठमाडौं उपत्यकामा १६८४ संक्रमित थपिएका छन्।

समुदायमा फैलियो कोरोना

हुन त विज्ञहरूले यसअघि नै काठमाडौं उपत्यकामा कोरोना समुदायमा फैलिसकेको दाबी गरेका थिए। तर, स्वास्थ्य मन्त्रालयले अस्वीकार गर्दै आएको थियो। अहिले भने काठमाडौं उपत्यकामा कोरोना समुदाय स्तरमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरिसकेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले समुदायस्तरमा कोरोना फैलिएको बताएका थिए।

उनले समुदाय स्तर कोरोना भएको जानकारी दिँदै मंगलबार भनेका थिए, ‘उपत्यकाका २० प्रतिशतभन्दा बढी केसमा ट्राभल ह्रिष्टी र कन्ट्याक्ट पनि भेटिरहेका छैनौँ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङ नै प्रभावकारी हुन छाडेकोमा चिन्ता व्यक्त गर्दछन्। ‘कन्ट्याक्ट ट्रेसिङ त हुनै छाडेको छ। आइसोलेसन पनि प्रभावकारी छैन,’ उनी भन्छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे भने कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी गर्न खोजिएको दाबी गर्छन्।‘कन्ट्याक्ट ट्रेसिङ सम्भव नहुने हैन। सम्भव छ। पहिला एक महिना पहिला गरिन्थ्यो भने अहिले एक महिना नभएर १० दिसम्मको गर्छ। स्वयंसेवकहरूले गरिरहनुभएको छ । प्रभावकारी पनि भइरहेको छ,’ डा. पाण्डे भन्छन्।

अझै कडाइ गर्दैछौं : काठमाडौं सिडिओ

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जनकराज दाहाल काठमाडौ जिल्लाभित्र संक्रमण बढ्दै गएका कारण अझै थप कडाइ गर्न सकिने बताएका छन्। ‘प्रोटोकल पालना गर्ने कुरामा सचेतना देखिएको छैन। त्यसैले झन् कडाइ गर्ने हाम्रो योजना छ,’ प्रजिअ दाहालले भने।

मानिसको आवतजावतमा पनि अब नियन्त्रण गर्न लागिएको उनको बताए। यसका लागि सबै निकायसँग छलफल गरिरहेको उनले बताए। ‘दसैं नजिकिँदै छ। भिडभाड बढ्ने सम्भावना छ। यसलाई नियन्त्रण गर्न हामीले कडाइ गर्नेछौं,’ उनले भने।’

नेपालमा सक्रिय केस २५ हजार नाघे लकडाउन गर्ने सरकारले आग्रह गरेको थियो। बुधबार सक्रिय संक्रमित संख्या २५ हजार नाघेको छ । प्रजिअ दाहाल भन्छन्- ‘जिल्लामा लकडाउने गर्ने कि नगर्ने भन्ने कुरा सरकारले नै निर्णय गर्ला। सरकारले नगरी त्यसबारे हामीले छलफल गर्न सक्दैनौं।’

सरकारदेखि विज्ञसम्मको आग्रह- दसैंमा उपत्यका बाहिर नजानुस्

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एउटा अपिल गरे- दसैंमा काठमाडौंबाट गाउँ र गाउँबाट काठमाडौं नआउनू।

उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा उनले अपिल गरेका थिए। जनस्वास्यविद्हरूको पनि त्यही सुझाव छ।

जनस्वास्यविद् डा. सुजनबाबु मरहठ्ठा दसैंमा मोबिलिटी कम गर्न सर्वसाधारणलाई आग्रह गर्छन्। ‘दसैंमा मोबिलिटी कम गराऔं। जहाँ छौं त्यहीँ बसेर दसैं मान्दा उचित हुन्छ,’ उनी भन्छन्।

डा. वन्त पनि त्यही सुझाव दिन्छन्। ‘अहिले दसैंमा संक्रमणको दृष्टिकोणले चलायमानात अन्त्यन्तै जोखिमपूर्ण छ। त्यसकारण सकेमसम्म हाम्रो आग्रह, सम्भव भएसम्म उपत्यका नछाड्नु राम्रो हो,’ उनी भन्छन्, ‘सुरक्षित ढंगबाट दसैं मनाउने हो भने यो पालि आफ्नै परिवारमा सीमित हौं। सम्भव भएसम्म नातेदारमा टिकाटालो रोकौं।’

दसैंमा सजग नहुने हो भने अझै विकराल रुप आउनसक्ने डा. वन्तको अनुमान छ। रीतिरिवाज, परम्पराको नाममा जोखिम मोल्नु नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट