भक्तपुरमा पर्याप्त मात्रामा आइसीयू र भेन्टिलेटर खाली-Sutra News

भक्तपुरमा पर्याप्त मात्रामा आइसीयू र भेन्टिलेटर खाली

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौं उपत्यकालगायत नेपालभर आईसीयु, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन्।



जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयु शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने १२ वटा भेन्टिलेटर सबै खाली छन्। भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आठ शय्या आइसीयु कोभिड-१९ को उपचारका लागि छुट्याइएको छ। तीमध्ये भक्तपुर अस्पतालका आइसीयुमात्र भरिएका छन्। यहाँ चार पुरुष र एक महिलाको आइसीयुमा उपचार भइरहेको छ। अन्य दुई अस्पतालमा आइसीयु पूर्णरुपमा खाली रहेका स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।

यस्तै भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्डसमेत खाली रहेका छन्। जिल्लाको कोभिड अस्पतालका १५ मध्ये दुई आइसोलेसन वार्ड खाली छन्। यहाँ आठ पुरुष र पाँच महिला उपचार गराइरहेका छन्। मध्यपुर अस्पतालमा १० शय्या आइसोलेसन छन्। यहाँ दुई महिला उपचार गराइरहेका छन्। केएमसी अस्पतालका १०० शय्यामध्ये ८५ शय्या खाली छन्। यहाँ १० पुरुष र पाँच महिला उपचार गराइरहेका छन्।

इवामुरा अस्पतालका चार, नागरिक अस्पतालका तीन, सिद्धि स्मृति अस्पतालको एक, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका नौ, बीपी आँखा अस्पतालको एक, जनस्वास्थ्य केन्द्रका दुई, समिट अस्पतालका १०, आरोग्य अस्पतालको चार र क्यान्सर अस्पतालका छ आइसोलेसन वार्डसमेत खाली रहेका प्रमुख मिजारले जानकारी दिए।

संस्थागत आइसोलेसन केन्द्रसमेत पर्याप्त मात्रामा खाली रहेका छन्। जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन्। तीमध्ये ३४४ मात्र उपयोग भएका छन्। नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन्। यहाँ ३६ पुरुष र छ महिला गरी ४२ जना उपचार गराइरहेका छन्।

खानेपानी कार्यालयको तेलकोटस्थित तालिम केन्द्रमा २३ आइसोलेसन वार्ड सबै खाली छन्। कृषि विकास बैंकको तालिम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन्। यहाँ २७ पुरुष र ११ महिला गरी ३८ सङ्क्रमित उपचार गराइरहेका छन्। सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्डमध्ये ४५ खाली छन्। यहाँ ८८ पुरुष र १७ महिला उपचार गराइरहेका छन्। सूर्यविनायक ब्यारेकका ७५ वार्डमा ५२ पुरुष उपचार गराइरहेका छन् भने २३ वटा खाली छन्।

त्यस्तै सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन्। यहाँ ७८ पुरुष उपचार गराइरहेका छन्। बाँकी ५२ वार्ड खाली छन्। भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये ४६ खाली छन्। यहाँ १५ महिला र १४ पुरुषगरी २९ कोरोना सङ्क्रमित उपचार गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट