राप्रपालाई एकीकरणको वैधानिकता प्राप्त-Sutra News

राप्रपालाई एकीकरणको वैधानिकता प्राप्त

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ र राष्ट्रिय प्रजातन्त्र पार्टी ‘संयुक्त’को एकीकरणलाई वैधानिकता दिएको छ। आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।



राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले भने, ‘एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको छ।’

प्रजातन्त्रको पुनःस्थापनापछि विसं २०४७ जेठ १५ गते पूर्वपञ्चहरुको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी ‘थापा र चन्द’का नाममा बेग्लाबेग्लै राजनीतिक दल खोलेसँगै उक्त पार्टीमा पटकपटक एकीकरण र विभाजनको अभ्यास चल्दै आएको छ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द संस्थापक रहेको उक्त पार्टी एकीकरण हुँदा ‘राप्रपा’ नाम रहे पनि विभाजन हुँदाका बखत राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, राप्रपा ‘प्रजातान्त्रिक’ र एकीकृत राप्रपा ‘राष्ट्रवादी’जस्ता विभिन्न दल बन्न पुगे। एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनावचिह्न ‘हलो’ हुनेछ।

एकता महाधिवेशनपछि विस २०७३ मा विभाजित पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकामा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष थापाले भने, ‘आगामी चुनावबाट हामीले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने सङ्कल्प गर्नुपरेको छ।’

चुनावचिह्न जनतासम्म पुर्‍याउन सम्पूर्ण पार्टी पङ्क्तिलाई सामाजिक सञ्जालमा चुनावचिह्न अङ्कित झण्डा समावेश गर्न अध्यक्ष थापाले निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट