९ नम्बर जर्सीमाथि बार्सिलोनाको भद्दा मजाक !-Sutra News

९ नम्बर जर्सीमाथि बार्सिलोनाको भद्दा मजाक !

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- हुन त `नाममे क्या रखा हे´ भनेजस्तै `जर्सीमे क्या रखा हे´ भनिएला। तर, फुटबलको मामिलामा `जर्सीमे बहुत रखा हे।´ कुनै पनि फुटबल क्लब अथवा राष्ट्रिय टिममा कुनै पनि लेजेन्ड खेलाडीले लगाउने जर्सी नम्बरलाई धेरै सम्मान गरिन्छ। यतिसम्म कि उसको नामभन्दा पनि उसलाई उसको जर्सी नम्बरले सम्बोधन गरिन्छ।



कुनै पनि नव प्रतिभाहरु त लेजेन्ड खेलाडीको जर्सी लगाउन डर मान्छन्, कतै आफूले त्यस जर्सीमाथिको गरिमालाई न्याय गर्न नसकिने पो हो कि भनेर। अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले सन् २००९ सम्म १० नम्बर जर्सीलाई छुन पाएनन्। क्रिष्टियानो रोनाल्डोले लुइस फिगोको सात नम्बर जर्सी पनि त्यति सजिलै पाएका थिएनन्।

अहिलेसम्म फुटबल इतिहासमा जर्सी नम्बर १०, सात र नौलाई सबैभन्दा आइकनिक र महत्वपूर्ण जर्सी नम्बर मानिन्छ। जुनसुकै राष्ट्रिय टिम वा क्लबमा आइकनिक जर्सी कुनै खेलाडीलाई हस्तानतरण गरिँदा उक्त खेलाडीले विगतमा गरेको प्रदर्शन र पुर्‍याएको योगदान अनि भविष्यमा उसले पुर्‍याउनसक्ने योगदानको सम्भाव्यतालाई आधार मानिन्छ।

अर्जेन्टिनामा मेस्सी र ब्राजिलमा नेयमारलाई १० नम्बर अनि पोर्चुगलमा क्रिष्टियानो रोनाल्डोलाई सात नम्बर जर्सी यतिकै दिएको होइन। उनीहरुले देशका लागि गरेका प्रदर्शन र योगदानकै आधारमा दिएको हो। जसमा उनीहरुले आफूलाई प्रमाणित पनि गरेर देखाएका छन्।

बार्सिलोनाले लेजेन्ड खेलाडी लुइस सुवारेजलाई फ्रि ट्रान्सफरमा छिमेकी क्लब एट्लेटिको मड्रिड पठाएपछि क्लबमा सुवारेजको विकल्पमा कुन खेलाडी भित्र्याउलान भनेर फुटबल पण्डित र समर्थकहरु अनेक किसिमका अनुमानहरु गरिरहेका थिए।

क्लबका नव नियुक्त प्रशिक्षक रोनाल्ड कोमनले सुवारेजको विकल्पमा फ्रानेसेली क्लब लियोनबाट मेमफिस डिपायी ल्याउने घोषणा नै गरेका थिए। त्यो सम्भावना यसपालीलाई सकिसकेको छ। किनभने ठीक आजबाट समर सिजनको लागि सरुवा बजार बन्द भइसकेको छ।

क्लबले पनि उनलाई अनुबन्ध गरेको आधिकारिक जानकारी बाहिर ल्याएको छैन। कोमनले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उनको उपयुक्त एवं प्राकृतिक भूमिका सेन्ट्रल फरवार्डबाट खेलाउने घोषणा पनि गरेका थिए।

धेरैले अनुमान गरेका थिए कि सुवारेजको विकल्पमा भूमिका पाउने भएपछि ग्रिजम्यानले नै सुवारेजको नौ नम्बर जर्सी लगाउने छन्। तर उनलाई सात नम्बर जर्सी दिइएको छ। डिपायी पनि अनुबन्ध नभएको अवस्थामा यस सिजन बार्सिलोनाको आइकनिक नौ नम्बर जर्सी खाली देखिएको थियो।

समर्थकहरु सामाजिक सञ्जालमा चिन्ता प्रकट गरिरहेका थिए कि नौ नम्बर जर्सी र लकर रुम यसपाली खाली हुने भयो भनेर। पहिलो कुरा त उनीहरु सुवारेजलाई क्लब निकाला गरेकै कुराबाट रुष्ट थिए। झन् उनको विकल्पमा उपयुक्त खेलाडी नभित्र्याएकोमा झनै आक्रोशित थिए।

बार्सिलोनाले खेलाडी किनबेचमा सबैभन्दा मजाक गरिरहेको छ। महँगो मूल्यको अफर आउँदा खेलाडी नबेचेर प्रायः सबैलाई फ्रि ट्रान्सफरमा क्लब निकाला गरिरहेको छ। यस विषयको अहिले खुब आलोचना भइरहेको छ। नौ नम्बर मुद्दाले त सामाजिक सञ्जाल तताएको छ।

क्लबले समर्थकको मागलाई सम्बोधन गरिदिएको छ। अब सुवारेजले लगाउने आइकनिक जर्सी नम्बर नौ खाली हुनेवाला छैन। अर्थात् यो जर्सी अब मार्टिन ब्रेथवेटले लगाउने छन्। बार्सिलोनाले नौ नम्बरलाई यति हल्काफुल्का र सामन्य ढंगले हस्तान्तरण गरेको छ कि यसलाई समयले फुटबल इतिहासकै भद्दा मजाकको रुपमा परिचित गराउनेछ।

ब्रेथवेटले जर्सी नम्बर नौ लगाउनै नहुने होइन। तर उनले आइकनिक नौ नम्बर लगाउने न कुनै योगदान गरेका छन्, न भविष्यमा उनले बार्सिलोनामा नौ नम्बर जर्सीलाई न्याय गर्ने समय पाउने नै छन्। किनभने उनी बार्सिलोना आएदेखि नै बेन्चमा मात्रै सीमित रहेका छन्। अर्कातिर उनले अन्य क्लबमा गरेको प्रदर्शनले त झन् उनलाई यो जर्सीको हकदार नै बनाउँदैन।

हुन त ब्रेथवेटलाई बार्सिलोनाले लुइस सुवारेज घाइते भएर लामो समय मैदान बाहिर रहनुपर्ने भएपछि टिमका लागि अस्थायी सट्राइकरका रुपमा पहिलो सिजन लालिगा मात्रै खेलाउने सर्तमा भित्र्याएको थियो।

एक हिसाबले उनी सुवारेजको विकल्पको रुपमै बार्सिलोना आएका थिए। तर, उनी आएदेखि नै टिममा पर्न असफल भइरहे। अधिकांश समय बेन्चमा बिताएका उनले मात्रै ११ खेलमा मौका पाएका थिए। जसमा उनले एकमात्रै गोल गर्न सफल भए। लेगानेसबाट आएका उनी बार्सिलोनाका कोच कोमनको योजनामा त झन् कहिल्यै थिएनन्।

तर, क्लबले एक्कासी उनलाई आइकनिक जर्सी नम्बर नौ दिएपछि उनको चर्चा अहिले एकाएक चुलिएको छ। उनी लेगानेस रहँदा जति गुमनाम थिए, बार्सिलोना आएपछि केही चर्चामा छाए। तर अधिकांश समय बेन्चमा बिताँउदा फेरि गुमनाम भइसकेका थिए।

अहिले जर्सी नम्बर नौ पाएपछि उनको चर्चा २४ घन्टाभित्रै यति धेरै चुलिसक्यो कि मानौं उनले बार्सिलोनालाई आफ्नै बलले ठूलै उपाधि जिताएका छन्। तर त्यस्तो होइन, उनको यो चर्चा आइकनिक जर्सी नम्बर नौसँग जोडिएकोले भएको हो।

सुवारेजभन्दा पहिला उक्त जर्सी एलेक्सिस सान्चेचले लगाएका थिए। सन् २०१४ मा लिभरपुलबाट आएका सुवारेजलाई उक्त जर्सी दिँदा आलोचना नै भएको थियो। उक्त समय सुवारेज अनुशासनहीन खेलाडीका रुपमा चर्चामा छाएका थिए। उनले २०१४ को विश्वकप खेल दौरानमा इटालीका खेलाडी जर्जियो चिलिनीलाई कुममा टोकेपछि उनी निकै विवादित बनेका थिए।

धेरैले सुवारेजले नौ नम्बर जर्सीको शालिनता र भद्रतामाथि न्याय गर्न सक्दैनन भन्दै आलोचना गरेका थिए। तर आफूलाई आयाक्स र लिभरपुल छँदै उत्कृष्ट प्रमाणित गरिसकेका उनले सबैको अनुमानलाई गलत साबित गरिदिए। एक अनुशासनहीन खेलाडीका रुपमा बार्सिलोना आएका लुइस सुवारेज भद्र, इमान्दार लेजेन्ड बन्दै बिदा भए।

बार्सिलोनामा नौ नम्बर जर्सी लगाउने सबै खेलाडीको इतिहास उत्कृष्ट रहेको छ। सुवारेजले लगाएपछि यसको गरिमा झनै बढेको थियो।

यसभन्दा पहिला उक्त जर्सी ज्लाटान इब्राहिमोविच, स्यामुयल इटो र रोनाल्डो नाजरियोजस्ता फुटबल इतिहासकै महान खेलाडीहरुले लगाएका थिए। उनीहरुले यस जर्सीलाई लेजेन्डबाट लेजेन्डलाई हस्तान्तरण गर्दै गएका थिए। हरेकले यस जर्सीको गरिमामाथि न्याय गर्दै अझ गरिमा बढाउने काम गरेका थिए।

उमेरले २९ वर्ष पुगिसकेका व्रेथवेटले बार्सिलोनाको आइकनिक नम्बर नौ लगाउन योगदानको हिसाबले धेरै चाँडो र उमेरको हिसाबले धेरै ढिला भइसकेको छ। चाँडो यस हिसाबमा कि उनले अहिलेसम्म बार्सिलोनलाई पुर्‍याएको योगदान शून्यप्रायः नै रहेको छ। ढिला यस हिसाबमा कि अब उनको खस्कँदो उमेरले गर्दा बार्सिलोनाका लागि धेरै खेल खेल्न सक्दैनन् र आफूलाई प्रमाणित गर्न सक्दैनन्।

उसै त उनको बार्सिलोना जीवन बेन्चदेखि बेन्चसम्म मात्रै सीमित हुँदै आइरहेको छ। अन्य क्लबमा रहँदा पनि उनले खासै छाप छोड्न सकेको इतिहास छैन। उनले २००८ देखि हालसम्म करिब १२ सिजनमा क्लब फुटबलमा ३ सय ५६ खेलमा मात्रै ८६ गोल गरेका छन् र ३८ गोलका लागि पास मिलाइदिएका छन्।

एक स्ट्राइकरको लागि यो गतिलो तथ्यांक होइन। यस हिसाबले बार्सिलोनाजस्तो विश्वस्तरीय क्लबमा ब्रेथवेट्ले स्ट्राइकरको भूमिकामा न्याय गर्न सक्छ भन्ने कुरामा विश्वाश गर्ने स्थिति पनि छैन। झन् नौ नम्बर जर्सीमाथि नै न्याय गर्न सक्लान भन्ने त टाढाकै विषय भयो।

हुन त यसपाली बार्सिलोनामा सबै कुरा अविश्वसनीय ढंगले आइरहेका छन्। खेलाडी किनबेचमा उसले सबैभन्दा मजाक गरिरहेको छ। महँगो मूल्यको अफर आउँदा खेलाडी नबेचेर प्राय: सबैलाई फ्रि ट्रान्सफरमा क्लब निकाला गरिरहेको छ। यस विषयको अहिले खुब आलोचना भइरहेको छ। नौ नम्बर मुद्दाले त सामाजिक सञ्जाल तताएको छ।

समर्थकहरु सुवारेजजस्ता महान खेलाडीले लगाइसकेको जर्सी कुनै गुमनाम खेलाडीलाई दिएर क्लबले लेजेन्ड खेलाडीको जर्सीमाथि घोर अपमान गरेको भन्दै आलोचना गरिरहेका छन्। फुटबल विश्लेषकहरु पनि यस विषयलाई ठूलो मजाक बनाएर सामाजिक सञ्जालमा हाँसिरहेका छन्। अब बार्सिलोनामा नौ नम्बर जर्सीको इतिहास दोहोरिएला कि हराउला चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट