अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ७५ लाख नाघ्यो-Sutra News

अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ७५ लाख नाघ्यो

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

न्युर्योक- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७५ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।



कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १५ हजार नाघेको छ। केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म १० लाख ५५ हजार ९९८ जना पुगेको छ। यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६१ लाख पुगेको छ।

कूल संक्रमितमध्ये दुई करोड ७१ लाख ९४ हजार भन्दा बढी हजार निको छन् भने करिब ७८ लाख ७४ हजार मानिस सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना ६७ लाख ५७ हजार संक्रमित भएका र यस संक्रमणबाट एक लाख ४ हजार ६५१ जनाको मृत्यु भईसकेको छ।

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख ७० हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४७ हजारको मृत्यु भएको छ। खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४८ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार ८६५ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित संख्या पनि बढ्दो छ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट