मन्त्री गुरुङद्वारा गाउँपालिका भवन शिलान्यास-Sutra News

मन्त्री गुरुङद्वारा गाउँपालिका भवन शिलान्यास

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

बागलुङ- बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ। भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन्।  



सो अवसरमा मन्त्री गुरुङले स्थानीय तहले विकास खर्च बढाउनुपर्ने बताए। उनले समृद्ध नेपालका लागि राज्य र नागरिक एक अर्काप्रति जवाफदेही बन्नुपर्ने धारणा राखे।

‘करको दायरा पनि बढाउने र सोही अनुसार राज्यले नागरिकका सबै सेवा, सुविधाको जिम्मा लिनुपर्छ’, मन्त्री गुरुङले भने। प्रशासनिक भवनका लागि प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाले रु दुई करोड बजेट विनीयोजन गरेको छ।

आउँदो आवमा पनि थप बजेट छुट्टाउने मन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले रु पाँच करोड १८ लाख, ५४ हजारमा भवनको ठेक्का सम्झौता भएको बताए।

काठमाडौँको माउण्ट संयुक्त निर्माण कम्पनीले भवन बनाउने जिम्मा पाएको छ। ५४ कोठासहितको तीन तले भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ। बडिगाड–५ खार बजारमा भवन बन्न लागेको हो। गाउँपालिकाको केन्द्र बस्ने भएपछि स्थानीयवासीले निःशुल्क जग्गा दिएका थिए।

‘गाउँपालिकाको भवन नहुँदा भाडाको घरमा बस्नुपर्ने बाध्यता अब हट्नेछ, भवन निर्धारित समयमै बनाइछाड्छौँ’, गाउँपालिका अध्यक्ष पाइजालेभने।

शिलान्यास समारोहमा प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’, इन्द्रलाल सापकोटालगायत जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट