सरकार र डा.केसीको टोलीबीच वार्ता सुरु-Sutra News

सरकार र डा.केसीको टोलीबीच वार्ता सुरु

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- अनशनरत प्रा.डा.गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता सुरु भएको डा.केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिए।



उनीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा.दिलीप शर्मा सहभागी छन्।

सरकारले टोली गठन गरेलगत्तै डा.केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो। उक्त टोलीमा डा.अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.कार्की सहभागी छन्।

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा.केसीले भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका थिए। यो उनको १९औँ अनशन हो।

डा.केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन्। अनशन सुरु भएको एक हप्तापछि उनलाई सरकारले जुम्लाबाट काठमाडौं ल्याएको थियो। डा.केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट