तीन ठूला साझेदारीका सडकको काम सुरु-Sutra News

तीन ठूला साझेदारीका सडकको काम सुरु

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

बलेवा– नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम सुरु गरेको छ। सङ्घीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम सुरु भएको हो।



वडा नं १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३.१ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ। जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्ने छ। चालू आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गर्ने सडक आयोजनामा यो सबैभन्दा ठूलो आयोजना हो।

वडा नं १३ पैँयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम सुरु भएको इञ्जिनीयर मनोज शर्माले बताए। रु आठ करोड ७२ लाख २८ हजार बजेट रहेको सो सडक रु छ करोड ३० लाख ४४ हजारमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ।

सङ्घीय सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा सो सडक कालोपत्रको काम सुरु भएको हो। दुई वर्षे कार्यक्रम भए पनि गत वर्ष काम हुन नसकेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रको काम आगामी असार मसान्तसम्म सक्नुपर्नेछ। रौताहा कन्स्ट्रक्सन प्रालीले सो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताए।

गत आवमा केही स्तरोन्नति भएका ती सडक क्रमागत छन्। पानी ट्याङ्की–बलेवा विमानस्थल सडक र पाउजा–अमलाचौर सडक गत वर्ष केही ठाउँमा ढलान र कालोपत्र भएका छन्। गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडाहुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम सुरु भएको छ। रु एक करोड ६६ लाख ६४ हजार बजेट विनियोजन भएको यो सडक रु ८४ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ। सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले जनाएको छ।

वडा नं ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रेहुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रको काम सुरु भएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कालोपत्र थालिएको सो सडक ७५० मिटर कालोपत्र हुनेछ भने यही सडकमा थप रु एक करोड ५० लाख थप गरेर सडकको स्तरोन्नति गरिनेछ। रु ९९ लाख ९९ हजार ९१० बजेट रहेको उक्त सडकको काम बिएमए निर्माण सेवा बागलुङले रु ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ।

स्थानीय सडकको स्तरोन्नति हुँदा वर्षायाममा बन्द रहने सडक सञ्चालनमा सहज हुने नगरपालिकाले जनाएको छ। बागलुङ बजारभित्रका सडकको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ। सडक बोर्ड नेपालसँगको सहकार्यमा बजारक्षेत्रभित्र भत्किएका सडक टालटुल पार्ने काम चलिरहेको शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट