झापामा आइसोलेसन निर्माण कार्यमा ढिलाइ-Sutra News

झापामा आइसोलेसन निर्माण कार्यमा ढिलाइ

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- झापाको दमक नगरपालिकामा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दो छ। अहिलेसम्म नगरपालिकामा १ सय ८९ जनामा कोरोना संक्रमण देखिसकेको छ। तीमध्ये १ सय ५५ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक संक्रमित महिलाको ज्यान गएको छ।



वडा नं १ का ५८ वर्षीय संक्रमित एक पुरुषको भने काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो।

पछिल्ला समय कोरोना सङ्क्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधि उपचाररत छन्। अहिले नगरमा सक्रिय सक्रिय संक्रमितको संख्या ३३ रहेको छ। तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

दुई दिनअघि यहाँ ३ सय जनाको स्वाब संकलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशालामा पठाइएको छ। यसअघि संक्रमण देखिइसकेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरिएको छ। नगरपालिकामा व्यवस्थित आइसोलेसन नहुदाँ समस्या भएको छ।

संघीय सरकारले स्थानीय तहमै कोभिड–१९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भए पनि यहाँ भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन। आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय: खाली छैनन्।

नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र संक्रमितको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा संक्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ।

नगरपालिकाले कोभिड–१९ को उपचारका लागि वडा नं २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी–१ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारको व्यवस्था मिलाउने गरी काम अघि बढाए पनि त्यसले अझैसम्म पूर्णता पाउन सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट