काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन दोब्बरको गतिमा बढ्दै गएको छ।
उसो त देशभरि सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामा पर्छ काठमाडौं। पछिल्लो २४ घण्टाको अपडेटअनुसार काठमाडौं जिल्लामा २ हजार ८५ जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाभरि २५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण बढ्दै गएपछि अस्पतालका बेडदेखि पाँचतारे होलटमा समेत आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ।
होटल एसोसियसन नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह काठमाडौंका होटेलमा आइसोलेसनमा बस्नेको संख्या बढ्दो रहेको दाबी गर्छन्। शाहका अनुसार एसोसियसनले होटेलको स्तर हेरेर रकम तोकेको छ। पाँचतारे होटलले एउटा रुमको ९ हजार रुपैयाँसम्म लिन पाउँछन्। त्यही रुम दुई जनाले शेयर गरेर बस्ने भए ६ हजार प्रतिव्यक्ति पर्न आउँछ।
त्यस्तै, चारतारे होटलको लागि ८ हजार रुपैयाँ एउटा रुमको पर्छ। यसमा पनि सेयर गरेर बस्दा प्रतिव्यक्ति ५ हजार ५ सय पर्न आउँछ। थ्री स्टारको लागि एक जनालाई ६ हजार मूल्य निर्धारण गरिएको छ। दुई जना बसेको खण्डमा प्रतिव्यक्ति ४ हजार रुपैयाँ पर्न आउँछ। यसमा खानादेखि खाजासम्म उपलब्ध हुन्छ।
महंगो शूल्कमा सेवा
एसोसियसनले कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्न उपत्यकाभित्रका ८० वटा होटलहरूलाई अनुमति दिएको छ। होटलहरूले पैसा लिएपछि राखिएका संक्रमितलाई के के खाना खुवाउने भन्ने सूची जिल्ला प्रशासन कार्यलयले सार्वजनिक गरेको छ।
कान्तिपथस्थित रहेको होटल एलो प्यागोडाले पनि संक्रमित तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू राख्ने गरेको छ। होटलमा अहिले करिब १ सय १२ जना रहेको होटलका कर्मचारी अनिल राजभण्डारीले बताए। स्टाफ राजभण्डारीका अुनसार होटलमा बस्ने अधिकांश बैंकका कर्मचारी हुन्।
होटलले प्रदान गर्ने सेवा सुविधाबारे उनी भन्छन्, ‘होटलले इम्युनिटी पावर बढाउने खालका खानामा ध्यान दिएको छ। साथै, आवश्यक परेको समयमा चिकित्सकीय सेवा समेत दिइरहेको छ।’ रुममा बसेका संक्रमित बाहिर निस्कन नपाउने होटलको नियम छ। त्यसरी बस्नेहरू सबैले रुम भने आफैं सफा गर्नुपर्नेछ।
एलो प्यागोडामा बसाइको दैनिक ५ हजार तिर्नुपर्नेछ हुन्छ। यसमा अतिरिक्त सेवा सुविधा र ट्याक्स भने छुट्टै तिर्नुपर्छ।
लाजिम्पाटको सांग्रिला होटलले पनि कोरोना संक्रमिलाई आइसोलेसनमा राखेको छ। हाल होटलमा एयरलाइन्स कम्पनीका कर्मचारीहरू रहेको होटलले जनाएको छ। यस होटलमा प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिइने गरेको छ। यस होटलमा भने कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरू रहेको एक स्टाफले बताए।