प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको पत्र- मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ!-Sutra News

प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको पत्र- मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ!

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

काठमाडौं- ‘एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ,’ अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्रीलाई बिहीबार आफ्नो सामाजिक सञ्जालमा एउटा भावुक पत्र लेखिन्।



पछिल्लो समय बलात्कारको घटना सार्वजनिक भइरहेका बेला अभिनेत्री शर्माले यो पत्र लेखेकी हुन्। उनले पत्रमा अबोध बालिकाहरूमाथि कुकृत्य भइरहँदा भोलिका दिनमा आफ्नै छोरी पनि कसरी सुरक्षित रहला भन्दै डर व्यक्त गरेकी छन्।

महिला राष्ट्रपति भएको देशमा पनि बलात्कार जस्ता जघन्य अपराधलाई सामान्य रुपमा लिएको भन्दै उनले अहिले पनि सीताले अग्निपरीक्षा दिएकै युगमा हामी रहेको हो कि भन्ने चिन्ता व्यक्त गरेकी छन्। ‘जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छाौं झैं लाग्छ,’ उनले लेखेकी छन् ।

यस्तो छ प्रधानमन्त्रीलाई ऋचाको पत्र
आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ।

मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पिर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरू बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ । जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छाैं झैं लाग्छ। हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं तर अफसोस सोचले अझै पिछडिएका छौ।

यहाँ बालिकाहरुलाई समम् खुलेआम राक्षसहरूले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी–नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस्, की यो देशमा उनीहरू सुरक्षित छन्? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पँैताला डगमगाउदैछन्। बाँकी तपाईहरू बुझ्ने कि!
निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट