विद्युत् विस्तारमा ठेकेदारको अड्चन, स्थानीय आन्दोलित-Sutra News

विद्युत् विस्तारमा ठेकेदारको अड्चन, स्थानीय आन्दोलित

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

राँझा- विद्युत् विस्तारमा ठेकेदार कम्पनीले बाधा अड्चन गरेको आरोप लगाउँदै बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज मध्यान्ह पूर्व पश्चिम राजमार्ग चक्काजाम समेत गरेका छन्। सवारी साधन बीच सडकमै रोकिँदा यात्रु अलपत्र परेका थिए।



सङ्घर्ष समितिका संयोजक पट्टु थारुले कोहलपुरबाट धामपुरको सब स्टेशनसम्म ३३ केभीको मुख्यलाइन गएपनि गाउँमा बिजुली वितरण हुन नसकेको बताए। उनका अनुसार विद्युत् विस्तारको कामलाई विद्युत् प्राधिकरणले अगाडि बढाउन खोज्दा ठेकेदार कम्पनी गौरी पार्वती उष्मा जेभीले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित भएका बताइएको छ।

अहिले पनि राप्तीसोनारीको वडा ३ र ४ मा पूर्णरुपमा विद्युत् पुगेको छैन। वडा नं ५ का केही गाउँ र नरैनापुरकाको ५ वटा भन्दा बढी वडामा विद्युत् विस्तार हुन सकेको छैन। २०६४ सालमा रु ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि बोलपत्र आह्वान भएको भएपनि कामको जिम्मा पाएको सो कम्पनीले १४ बर्षसम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले विद्युत् विस्तारको बिषयमा आफु निकै सकारात्मक रहेको जनाउँदै अदालतलाई विद्युत् विस्तारको पक्षमा जवाफ दिएको बताए। उनले सङ्घर्षका कार्यक्रम नगर्ने गरी राप्तीसोनारी र नरैनापुरवासीको माग सम्बोधन गर्नेतर्फ ध्यान दिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट