

बनेपा- काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ। यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो।
बागमती प्रदेश सरकारले रू ४९ करोड बजेट विनियोजन गरेकाले जिल्ला सदरमुकामदेखि पहिलो खण्डअन्तर्गत उक्त गाउँपालिकाको केन्द्र देवीटार जोड्ने (वडा नं ५ को खोलाघारी–घ्याब्रिङ–देवीटार) ८.७ किमी बाटोको शिलान्यास मङ्गलबार उक्त प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले गरेका हुन्।
उनले जिल्ला सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने पक्की सडक निर्माणका लागि ठेक्का आह्वान भइसकेको र समयमै काम सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध गरिने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला सदरकमुकामदेखि उक्त गाउँपालिकासम्म जोड्न रोशी गाउँपालिकाको पिन्थली–रजबास–चारकिल्ला–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले र कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार–तीनखुट्टे–खोलाघारी–घ्याब्रिङ–देवीटार–गोकुले गरी दुई ठाउँबाट कच्ची मोटरबाटो सञ्चालन भइसकेको छ।
पक्की सडक निर्माणका लागि श्रेष्ठ÷साक्ष्मक जेभिले रू २५ करोड ८२ लाखको लागतमा आगामी २०७९ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो ।