सहुलियत पसलमा आएनन् ग्राहक-Sutra News

सहुलियत पसलमा आएनन् ग्राहक

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

वीरगञ्ज- दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन्। सहुलियतमा चामल बिक्री गर्ने कार्य सुरु गरे पनि हालसम्म बोहनीसमेत हुन नसकेको सो कार्यालयले जनाएको छ।



शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ६५ मा पाउने चामलमा रु पाँच सहुलियत दिइएको छ। पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ।

मङ्सिर ६ गतेसम्म सञ्चालनमा रहने उक्त सहुलियत पसलबाट २०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको सूचना अधिकारी मुनिलाल कुशवाहले बताए। सो सहुलियत पसलमा २५ किलोको र १० किलोको गरी दुईथरीका चामलका प्याकेट बिक्रीको लागि राखिएको छ।

उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ। सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन्।

गत वर्ष सो कार्यालयले यही समयमा तीन क्विन्टल ४० केजी मात्र चामल बिक्री गर्न सकेको थियो। उपभोक्ताले मास्क लगाएर आउनुपर्ने, साबुनपानीले हात धुनु पर्ने र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट