‘रंगशालामा म्युजिक भिडियो बनाउँदा कोरोना नलाग्ने, फुटबल खेल्दा लाग्ने?’-Sutra News

‘रंगशालामा म्युजिक भिडियो बनाउँदा कोरोना नलाग्ने, फुटबल खेल्दा लाग्ने?’

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौँ- सामाजिक सञ्जालहरुमा नेपाली फुटबल टिम, क्लब एवं विदेशी टिम र क्लबहरुलाई समर्थन गर्ने नेपालीहरुको सयौँ फ्यान क्लबहरु रहेका छन्। ती फ्यान क्लबहरुमा फुटबलका लाखौँ समर्थकहरु जोडिएका छन्। फुटबलका गतिविधिहरुसँग सम्बन्धित रहेर उनीहरु मिनेट-मिनेटमा अनौपचारिक बहसहरु चलाइरहेका हुन्छन्।



फुटबल क्लब बार्सिलोनाको ‘फेसबुक फ्यान क्लब’मा मात्रै १ लाख ८० हजार सदस्य छन् भने ‘फुटबल गसिप कर्नर’ नामक फेसबुक समूहमा ८० हजार सदस्य छन्। यस्ता अन्य पनि धेरै ‘फुटबल फ्यान क्लब’ हरु सामाजिक सञ्जालहरुमा भेटिन्छन्।

यी ‘फ्यान क्लब’मार्फत् फुटबल समर्थकहरुले सरकारले अझै पनि फुटबल गतिविधि ठप्प पारेर फुटबलमाथि नै अन्याय गरिरहेको गुनासो गरिरहेका छन्। विदेशी लिगहरुले दर्शक बिनाको रंगशालामै खेलाएरै कतिपय प्रतिस्पर्धा सम्पन्न गरेका छन्।

तर, नयाँ सिजन सुरु भइसक्दा पनि नेपालमा भने फुटबलको प्रशिक्षणसमेत सुरु नभएको भन्दै उनीहरु आक्रोस पोखिरहेका छन्। उनीहरुको माग छ, जति चाँडो सकिन्छ, चाँडो नेपाली फुटबललाई मैदानमा फर्काऔँ।

केही दिन पहिले चर्चित पत्रकार ऋषि धमला र उनकी पत्नी एलिजा गौतमलगायतको टिमले दशरथ रंगशालामा म्युजिक भिडियो सुटिङ थियो। यो सन्दर्भका कारण उनीहरु झन् असन्तुष्ट छन्।

उनीहरुको प्रश्न छ, रंगाशालामा म्युजिक भिडियो बनाउँदा कोरोना नलाग्ने, फुटबल खेल्दा लाग्ने? उनीहरुको तर्क जायज नै छ। रंगशालामा फुटबल गतिविधि सञ्चालन गर्न निषेध गर्ने हो भने अरु पनि गतिविधि पनि निषेध गर्नुपर्ने आवाज उठाइरहेका छन्।

के भएको थियो त दशरथ रंगाशालामा? पत्रकार ऋषि धमला, उनकी पत्नी एलिजा गौतम, पूर्व खेलाडी हरि खड्का र अन्य कलाकारहरु दुर्गेश थापा र पल शाह अभिनित ‘किन यस्तो भो’ बोलको गीतको भिडियो दशरथ रंगाशालामा छायाङ्कन गरिएको थियो।

भिडियोका निर्माता एवं निर्देशक सरोज वलीले आफूहरुले राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिएरै भिडियो खिचेको बताए। ‘हामीले बकाइदा पत्र लेखेर नै दिएका थियौँ। गीलेले खेलकुद विषयलाई पनि समेटेको जानकारी गराएपछि हामीलाई सदस्य सचिवले नै पत्रसहित अनुमति दिनुभयो,’ उनले भने, ‘हामीले मिनिमम चार्ज १० हजार तिरेर अनुमति लिएका थियौँ।’

यस घटनाबाट प्रष्ट हुन्छ कि रंगशालामा कुनै किसिमको रोकटोक छैन। ‘त्यसो भए फुटबल गतिविधिमात्रै किन ठप्प त?’ भन्ने फुटबल समर्थकहरुको आक्रोश यहाँनिर जायज नै देखिन आउँछ।

लामो समयदेखि फुटबल गतिविधि ठप्प छ। फुटबल गतिविधि कहिलेदेखि कसरी सुचारु गर्न सकिन्छ? भन्ने विषयमा सूत्रन्युजले बारम्बार खेलाडी, एन्फा र सरकार तीनै पक्षसँग पटक-पटक जिज्ञाशा राख्दै आइरहेको पनि छ।

निषेधाज्ञा खोल्नु भन्दाअघि नै सरकारले फुटबल लगायत सम्पूर्ण खेलकुद गतिविधि ठप्प पारेको थियो। अहिले निषेधाज्ञा छैन, खोलिसकिएको छ। तर अहिलेसम्म कुनै पनि फुटबल गतिविधि सञ्चालन गर्न दिइएको छैन।

एन्फाका महासचिव ईन्द्रमान तुलाधर आफूहरुले फुटबल गतिविधि सञ्चालन गर्न पाउँ भनेर पटक-पटक सरकारलाई पत्र लेखेर अनुमति माग्दा पनि सरकारले नै अनुमति नदिएको आरोप लगाइरहेका छन्। उनले सरकारले निश्चित ‘प्रोटोकल’ तोकेर अनुमति दिए त्यसको भोलिपल्ट देखि नै फुटबल गतिविधि सुचारु गर्न आफूहरु तयार रहेको बताउँछन्।

यता खेलाडीहरुले बारम्बार भनिरहेका छन् कि, उनीहरु फुटबल खेल्न नपाएर हैरान छन्। पटक-पटक आवाज उठाउँदासमेत आफूहरुको सुनुवाइ नभएको गुनासो उनीहरुको छ।

खेलाडीहरु यस्तै नियतिमा रहिरहनुपर्ने भएमा भोलि आफूहरुको ‘फिटनेस’मै समस्या सिर्जना हुनसक्ने र राष्ट्रिय टिममा पाएको अवसर नै गुमाउनुपर्ने पो हो कि भन्ने सम्मको चिन्ता छ उनीहरुलाई। त्यसैले, सहज वातावरणको लागि उनीहरुले सरकारसँग अपेक्षा पनि गरेका छन्।

नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ भन्छ्न्, ‘सामाजिक सञ्जाललगायतका माध्यमबाट हामीले सक्दो पहल र खबरदारी गरिरहेका छौँ। तर हाम्रो आवाजको सुनुवाइ भएको छैन।’

उनले एन्फाले पत्र नै लेखेर पठाउँदा पनि सरकारले बेवास्ता गरेको बताए। कप्तानको हैसियतमा आफूले टिमका व्यवस्थापक र एन्फासँग मात्रै कुरा गर्नसक्ने तर सिधै सरकारसँग कुरा गर्नु आफ्नो दायित्व नभएको समेत बताए।

‘फुटबलका गतिविधि सुरु गर्नुपर्छ भनेर हामीले एन्फामार्फत् सरकारसम्म कुरा पुर्‍याएका छौँ,’ उनले भने, ‘तर, सरकारले त्यसका लागि वातावरण निर्माण गरेन। यसप्रति हामी दुखित छौँ।’

फुटबल खेल्न नपाउँदा अन्य खेलाडी तनाबमा छन्। उनीहरु चाँडो भन्दा चाँडो मैदानमा फुटबल खेल्न आतुर छन्। आफूहरुले सिकेको सीपलाई मैदानमा व्यवहारमा उतार्न नपाउँदा पीडा भएको बताउँछन् उनीहरु।

खेलाडीहरु यस्तै नियतिमा रहिरहनु पर्ने भएमा भोलि आफूहरुको ‘फिटनेस’ मै समस्या सिर्जना हुन सक्ने र राष्ट्रीय टिममा पाएको अवसर नै गुमाउनुपर्ने पो हो कि भन्ने सम्मको चिन्ता छ उनीहरुलाई। त्यसैले, सहज वातावरणको लागि उनीहरुले सरकारसँग अपेक्षा पनि गरेका छन्।

सरकारी धारणा भने एन्फा र खेलाडीहरुको भन्दा ठीक विपरित देखिन्छ।

महामारीको कारणले खेलकुद गतिविधि निषेध गरेको थियो। महामारी अहिले पनि जारी छ। तर पहिलेको निषेध भने कायम छैन। खेलकुद मन्त्रालयका उपसचिव सागर रोक्का भन्छ्न्, ‘मन्त्रालयको तर्फबाट खेलकुद गतिविधिलाई निषेध गरिएको छैन। सुरक्षित तरिकाले खेलकुदका गतिविधि सञ्चालन गर्न कुनै बाधा पुर्‍याएका छैनौं।’

उनका अनुसार त एन्फा आफैँले तयारी नगरेकाले अहिले फुटबल गतिविधि सञ्चालन हुन नसकेका हुन्। एन्फाले पछिल्लो समय फुटबल गतिविधि सञ्चालनका लागि पूर्व तयारी नै नगरेको उनको आरोप छ।

‘खेलाडीको कोरोना परीक्षण गर्नुपर्‍यो। टिममा कति जनासम्मलाई समेट्ने भन्ने कुराको योजना हुनु पर्यो’ उनी प्रश्न गर्छन्, ‘कहिलेदेखि, कहाँ, कसरी गतिविधि हुने हो, त्यसको विस्तृत योजना हुन पर्‍यो। आफूले गर्नुपर्ने केही तयारी र योजना नबनाउने, अनि सधैँ सरकारलाई आरोप लगाएरमात्रै हुन्छ?’

उनको भनाइमा निषेधाज्ञा खुलेलगत्तै सरकारले सुरक्षित तरिकाले सम्पूर्ण खेलकुद गतिविधि सञ्चालन गर्न दिने कुरामा लचकता अपनाइरहेको छ। त्यसैले, सम्बन्धित खेल क्षेत्रबाटै त्यसका लागि लागि उचित तयारी र सुरक्षा अपनाउनुपर्छ।

रंगशालामा कसैलाई कहिल्यै निषेध नगरिएको बताउने उनी त्यहाँ म्युजिक भिडियोको छायाङ्कन हुनु अचम्मको कुरा नभएको पनि बताउँछन् उनी। उनी भन्छन्, ‘यो राष्ट्रिय खेलकुद परिषदको क्षेत्र अधिकार भित्रको कुरा हो। के गर्न दिने के गर्न नदिने भन्ने कुरा उसले नै निर्धारण गर्छ। रंगाशालामा के भयो भन्नेचाहिँ मलाई जानकारी छैन।’

लामो समयदेखि ठप्प भएको फुटबल गतिविधि पुनः सुचारु होला कि भनेर खेलाडीहरु एन्फाको मुख ताकिरहेका छन्। एकातिर एन्फा ‘सरकारले फुटबल गतिविधि सञ्चालन गर्न अनुमति नदिएको’ भन्दै आरोपको तीर सरकारतर्फ तेर्स्याइरहेको छ।

अर्कोतिर सरकार भने आफूले फुटबल मात्रै नभई अन्य कुनै पनि खेल गतिविधिमा रोक नलगाएको दावी गर्दै आरोपको तीर एन्फातर्फ नै फर्काइरहेको छ।

यसरी हेर्दा फुटबलसँग सम्बन्धित संरक्षक निकायहरु आरोप-प्रत्यारोपमै व्यस्त छन्। एन्फा-सरकार बीचको यो ‘जुँगाको लडाईँ’ले फुटबल खेलको भविष्य कता लैजाला? बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट