कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द-Sutra News

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

बनेपा- कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन्। जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन्।



मालपोत कार्यालय धुलिखेलले आज सार्वजानिक सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि नियमित सेवा स्थगित भएको जनाएको छ। स्वास्थ्य कार्यालयले पनि कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएको जनाउँदै आजबाट अर्को सूचना जारी नभएसम्मको लागि आन्तरिक काम मात्रै सञ्चालन हुने कार्यालयका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाले पनि विहीबार सूचना जारी गरी नगरपालिका भित्रका विभिन्न वडामा कोरोना  पुष्टि भएकाले नगरपालिकाको कार्यालय सहित सबै वडा कार्यालय, विद्यालय तथा सम्पूर्ण कार्यालय एवं गैह्र सरकारी संघ-संस्थाहरुबाट हुने कामसमेत बन्द भएको जनाएको छ। नगरपालिकाले नगरभित्र हुने कुनैपनि तालिम, भेला, जमघटमा समेत रोक लगाउनुका साथै बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका होटल, पसल तथा व्यवसाय समेत बन्द गराएको छ।

जिल्लाको रोशी गाउँपालिकाले पनि गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि गत आइतबारदेखि अनिश्चित कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ। कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुन सक्ने सेवा भने सञ्चालन हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट