वालिङ- स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग१३प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट-१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
उनका अनुसार स्याङ्जाको भीरकोट-३ बानेथोक देउराली घर भई हालः कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट-३ बानेथोक देउराली घर भई वालिङ नपा-१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ।