सप्तरी- सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। रुपनी गाउँपालिका-१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए।
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उहाँको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी-१ का सन्तोष यादवले जानकारी दिए। काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन्। यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि सरुवा भएर काठमाडौं गएका प्रनाउ कोरोना सङ्क्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आएका थिए।
यसैगरी आज अन्य सङ्क्रमित हुनेमा राजविराज नगरपालिका-१ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय सङ्क्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
योसँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ। तीमध्ये १ हजार १०३ जना निको भएका छन्। हालः जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन्।