अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ। शीतगङ्गा नगरपालिका-७ जलुके घर भई हालः सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए।
यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए। यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ। कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ।