विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग ७ महिनादेखि बन्द-Sutra News

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग ७ महिनादेखि बन्द

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

गलकोट–नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।



पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए। लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो।

‘सात महिनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ’, उद्योग सञ्चालक चुडाबहादुर रानाले भने, ‘केन्द्रीय विद्युत् नभएसम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत् ल्याउने पहल भइरहे पनि केही महिना लाग्ने भयो।’

लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए। यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौँ बिक्री हुँदै आएको थियो।

‘लघु विद्युत्ले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सीप लागेन’, उनले भने, ‘शुरुमा सिक्दासिक्दै घाटा भयो, अहिले विद्युत् नहुँदा लगानी डुब्ने अवस्था आएको छ।’ हाते कागज उद्योगमा झण्डै ५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताए। पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो।

उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो। उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्ले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ।

पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ। हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युत्को आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट