काठमाडौं– पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा.खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए।
नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताए। अहिले अर्थतन्त्रका केही ‘इन्डिकेटर’ राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के ग¥यो भन्दै उनले प्रश्न गरे। कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराए।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक सङ्कट गहिरिँदै गएको बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सीप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताए।
साइप्रसका पूर्वअर्थमन्त्री डा मिचेल सारिसले कोभिड–१९ स¬ङ्कटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए। एशियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कूल अफ इन्भारोमेन्ट, रिसोर्स एण्ड डेभलपमेन्टका प्रा डा शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए।
अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उनले बताए। कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यामकुमारी खतिवडा, एकनाथ खतिवडालगायतले कोभिड–१९ बाट सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिए।