अर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि सहमत-Sutra News

अर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि सहमत

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

मस्को– अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धबिरामका विषयमा सहमति भएको बताइएको छ। यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी दिएका हुन्।



रुसी राजधानी मस्कोमा गएको करिब १० घण्टासम्म यी दुई देशबीच वार्ता भएको थियो। उक्त वार्तापछि युद्धबिरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिएको समाचारमा जनाइएको छ।

अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराएका हुन्।  यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको छ। यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ। काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो। त्यहाँ युद्ध भने जारी छ।

त्यस युद्धको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता थालेको थियो। शनिबार पनि रुसकै पहलमा यी दुई देश युद्धविरामका लागि तयार भएका हुन्।अर्मेनियामा रुसको सैन्य आधार शिविर पनि रहेको बताइएको छ। त्यस्तै अजरबैजानसँग पनि रुसको सम्बन्ध रहेको बताइएको छ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो। तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ। सोही क्षेत्रलाई लिएर यसअघि पनि सन् १९९१ देखि १९९४ सम्म दुई मुलुकबीच युद्ध भएको थियो। त्यस युद्धमा हजारौँ नागरिकको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट