सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने-Sutra News

सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ। धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो। यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ।



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क आउन बाँकी रहेको बताए।

‘कृषि प्राविधिकले धानबालीको उत्पादनको मापन गर्न ‘क्रफ कटिङ‘ कार्य गरिहेकोले उत्पादनको तथ्याङ्क आइसकेको छैन’, उनले भने ‘बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभरी पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान छ।’ बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या कतिपय क्षेत्रका किसानले झेल्नुपरेको थियो।

तराईका कैलाली र कञ्चनपुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन्। उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको जनाइएको छ।

क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ। योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट