कोरोना संक्रमणबाट रुपन्देहीका थप ४ जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट रुपन्देहीका थप ४ जनाको मृत्यु

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- कोरोन संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन्। बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो।



बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ। असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको डा.गौतमले पुष्टि गरे।

यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ। शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट