एक हजारभन्दा बढी आप्रवासी स्पेनी क्यानरी टापुमा-Sutra News

एक हजारभन्दा बढी आप्रवासी स्पेनी क्यानरी टापुमा

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

मड्रिड– पछिल्ला ४८ घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ। रेडक्रसका अनुसार कम्तीमा १० बर्षमा अफ्रिकाबाट स्पेन पुग्ने आप्रबासी शरणार्थीको संख्या यति धेरै देखिएको थिएन।



युरोपको किनारमा भूमध्यसागरीय मार्गमा टर्की, मोरक्को र लिबियाले कडा नियन्त्रण गरेपछि अफ्रिकी आप्रवासीहरू पछिल्ला केही दिनहरूमा क्यानरी टापुहरूतर्फ लाग्न थालेका हुन्। बिहीबारदेखि विभिन्न ३७ डुङ्गामा एक हजार १५ आप्रबासी, शरणार्थी लान्जारोट, फुर्तेभेन्तुरा, ग्रान्ड क्यानरिया र टेनेरिफ टापुहरूमा आइपुगेका छन्। ग्रान्ड क्यानरिया र टेनेरिफ क्षेत्रहरू अफ्रिकाको समुद्री तटबाट करिब ३०० किलोमिटर रहेका छन्।

स्पेन रेडक्रसका प्रवक्ताले भने, ‘धेरैजसो आप्रवासीहरू उत्तर अफ्रिका वा सब–सहारा क्षेत्रमा रहेका अफ्रिकी देशबाट आएका थिए र उनीहरूको स्वास्थ्य राम्रो रहेको पाइएको छ।’ उनीहरू सबैको कोभिड–१९ परीक्षण गरिएकोमा सबैको रिपोर्ट आइसकेको र कोही पनि संक्रमित नभेटिएको रेडक्रसले जनाएको छ।

यो संख्या झण्डै सन् २००६ तिरको तथ्याङ्कसँग मिल्दोजुल्दो पाइएको छ। उक्त समयमा मासिकरूपमा स्पेनी क्यानरी टापूमा पुग्ने आप्रबासीको संख्या करिब ३० हजारको हाराहारीमा रहेको थियो। यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा करिब छ हजार आप्रबासी क्यानरी टापुमा अवतरण गरेका थिए। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब छ गुणा बढी हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट