राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम सुरु-Sutra News

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम सुरु

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

नवलपुर– कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः सुरु भएको छ। नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ।



‘कोरोनाको संक्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो’, निर्माण कम्पनी आशिष निर्माण सेवाका साइड इन्चार्ज कपिल गौलीले भने, ‘कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ।’ कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दशैँलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताए।

उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर) अन्तर्गत अर्गली–रामपुर (पाल्पं)–गैँडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ। रु ५ अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालीगण्डकी करिडोरको गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताए। निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले नेपालको गौली ग्रुप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो।

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ। निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक/एक मिटरको किनार तथा एक÷एक मिटरको नाला रहनेछ। ट्रयाक निर्माण सकिएको करिडोरको कालोपत्रको काम गत वैशाखबाट सुरु गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले जनाएको छ।

‘आगामी २०७८ सालको वैशाखबाट हामीले उक्त सडकखण्डमा कालोपत्रको काम सुरु गर्ने गरी अन्य कामलाई तीव्रता दिँदैछौँ’, गौलीले भने, ‘अहिले पाल्पाबाट काम गर्दै गैँडाकोटतर्फ आएका छौँ, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ।’ कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–गैँडाकोट सडकखण्डलाई चारवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ। गैँडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको गौलीले जानकारी दिए।

कालीगण्डकी करिडोरको पाल्पा–गैँडाकोट खण्डलाई गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामब्ोसी थामबेँसीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ। विसं २०७५ मंसीर १७ गतेबाट सुरु गरिएको गैँडाकोट पाल्पा खण्डको निर्माणकार्य २०७८ मंसीर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। यद्यपि कोभिड संक्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे एक वर्ष पछाडि धकेलिने आयोजनाले जनाएको छ।

यस करिडोरको गैँडाकोट–पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेका कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताए। काम सुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशत मात्रै देखिएको अधिकारीले बताए। सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट