डा.केसीसँगको सहमतिप्रति कांग्रेसको प्रतिक्रिया- साउनमा सहमति, माघमा उल्लंघनको नजिर नदोहोरियोस्-Sutra News

डा.केसीसँगको सहमतिप्रति कांग्रेसको प्रतिक्रिया- साउनमा सहमति, माघमा उल्लंघनको नजिर नदोहोरियोस्

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले डा.गोविन्द केसीसँग गरेको सहमतिलाई स्वागत गर्दै ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिनका लागि खबरदारी जरुरी रहेको बताएको छ।



आइतबार डा. केसी र सरकारबीच आठ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन तोडेका छन्। डा.केसीले अनशन तोडे लगत्तै कांग्रेसले सो भनाइ सार्वजनिक गरेको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा.गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ। स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ।’

डा.केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै कांग्रेसले जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको बताएको छ।

‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं। तर, विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० मा डा. केसीसँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको स्मरण गर्दै कांग्रेसले आफ्नो पार्टी नेतृत्वमा रहेको अघिल्लो सरकारले डा.केसीका मागहरू पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा.केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जना भएको दाबी गरेको छ।

कांग्रेसले हालै गरिएको आठ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सार्वजनिक रूपले आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट