भूबिक्रम नेम्वाङ नक्सलमा बस्नु हुन्थ्यो। ठाउँ त त्यो ठीक थियो। तर, गिरिजाबाबुको त्यहाँ हुने ओहरदोहर पश्चिम बंगालको कम्युनिस्ट सरकार चाहदैनथ्यो । जासुस संगठन ‘रअ’ पनि नेपाली कांग्रेस र नक्सलवादीका बीच कतैकुनै व्यवहारिक तालमेल नहोस् चाहेको थियो।
साइँल्दाई भूबिक्रमलाई पनि उनीहरूले भनेका थिए, नेपालका झापाली कम्युनिस्टहरूले नक्सलीलाई नेपालमा शरण दिने, अनि नक्सलीले तिनीहरूलाई नक्सलबाडी तिर, तेसो नगर्नु होला नि! साइल्दाईको थेगो थियो, ‘क्या बात ! ‘रअ’ बालाहरू झस्केका थिए।
यसैले गर्दा गिरिजाबाबु सिलिगुडीमा रामबाबु प्रसाई (खनुपरूदे) बस्ने ‘भानेबासा’ लाई रोज्नु भो। ‘भानेबासा’ रामबाबुको बासस्थानको नाम थियो, भारत–नेपाल बासा। ‘खनुपरूदे’ जस्तै सर्टनेम’ थियो, ‘भानेबासा।’ २०३१ को बिमान अपहरणपछि केही पैसा दार्जिलिङ्मा शर्माजीको घरमा थियो।
सायद त्यसमध्येको केही होला वा अरू नै। केही रकम र १–२ थान रिभल्वर गिरिजा बाबुले रामबाबुको जिम्मामा राख्न चाहनु भएको थियो। ‘यसलाई तपाईं सुरक्षित राख्नुस् रामबाबु’ उहाँले भन्नु भो।
रामबाबुले बैद्यनाथ आयुर्वेद कम्पनीको डायरी निकालेर गिरिजाबाबुलाई सोध्नु भो, ‘कति कति रकमको कति नोट छ यसमा ? अनि, रिभल्वर कति राउण्डको, कहाँ बनेको हो? गोलीगठ्ठाको संख्या?’ गिरिजाबाबुले दिक्क मानेर मनोहरी बराल (जीबा) लाई भन्नु भो, ‘यो के गर्न लागेको रामबाबुले?’
रामबाबुले डायरीमा लेख्नु भएको थियो, तारेख, गिरिजाबाबु आएको समय, साथका मानिसहरू, जम्मा रकम, कुन नोट कति संख्या? रिभल्वर संख्या, बनेको मुलुक, गोलीको संख्या आदि आदि फेहरिस्तहरू।
रिसाउनु भएका गिरिजाबाबुले संझाउदै भन्नु भो, ‘रामबाबु, तपाईंले के गर्न चाहनु भएको हो? इन्दिरा गान्धीले हामीलाई दु:ख दिन थालेकी छे। सर्च गरेर हतियार समातेको छ, यताको पुलिसले। कथंकदाचित यहाँ सर्च गरेर यी सब फेला पारे भने तपाईंको यो डायरी त मुद्दा चलाउने प्रमाण पो हुन्छ।
अनि गिरिजाबाबुले रामबाबुको सुत्ने ओछ्यान पल्टाउन लगाएर छरपष्ट रूपियाँ र हतियार राख्न लगाएर ओछ्यान मिलाउन लगाइदिनु भो। रामबाबु मुर्ख हुनुहुन्थेन। यस्तो बुझ्नु फेरि मुर्खता हुनेछ। यो हर हालतमा उहाँको सफा र स्पष्ट व्यवहारको यौटा नमूना थियो, यो कुरा गिरिजाबाबुहरू, प्रवासमा रहेका सबैलाई थाहा थियो।
त्यसपछि गिरिजाबाबु बिदा हुनु भयो। नभन्दै ५–१० दिनमा बंगाल पुलिसले ‘भानेबासा’ रेड गर्यो। रामबाबु त्यहीँ रहनु भएको थियो। उनीहरुले भने, ‘रामबाबुजी, कहिए कोईराला साहेब आए थे क्या? कुछ रखे है आप के घर मे?’
पश्चिम बंगालका पुलिस सदासयी नै थिए उ बेला। त्यहाँको कम्युनिस्ट सरकार नेपाली काँग्रेसलाई दुख दिन चाहदैन्थ्यो। नयाँदिल्लीस्थित इन्दिरा गान्धीको सरकारको निर्देशनमा यो रेड गरिएको थियो। निश्च्छल रामबाबुले ‘आए तो थे’ भन्नु भो। त्यस रेडमा बंगाल सरकारका अरूपनि निकायका मानिसहरू थिए।
घरको खान तलासी भयो। ओच्छ्यान पनि पल्टाईयो। सबै रकम र रिभल्वर फेला पर्यो। बंगाल पुलिसले पञ्चनामा तयार गरे, यताको मुचुल्का जस्तै। हस्ताक्षर गर्नु अघि रामबाबुले पढनु भयो। दोहोर्याएर पढनु भयो। त्यस पञ्चनामामा रकम तथा रिभल्वर फेला परेको उल्लेख थिएन। उनीहरूले कतै खबर गरेर, विचारिकन त्यो पञ्चनामा तयार गरेका थिए।
रामबाबुले ‘रकम–कलम’ को र हतियारको जिकिर त छैन नि?’ भनी प्रश्न गरेपछि बंगाली बाबुले भनेछन्, ‘पुरे पैसा कोइरालाजीको भिजवा दिजिए और हतियार छिपा दिजिए। कोइराला साहेब बडी मिहनत से जमा किए होंगे।’
रामबाबुले हस्ताक्षर गर्न अप्ठ्यारो मान्नु भएको थियो, पञ्चनामामा अरू समानहरू नै फेला परेको, गिरिजाबाबु आउनु भएको, कार्यकर्ताहरूसँग भेटेको आदि कुराहरू लेखिएको थियो। बडो अप्ठ्यारो मानेर रामबाबुले पञ्चनामामा हस्ताक्षर गरी दिनुभयो।
उहाँको मनमा थियो, कि त रकम र हतियार सबै लगुन्। यसको पञ्चनामा बनोस्, म त्यसैमा हस्ताक्षर गर्छु। रकम नलाने, हतियार चाहिँ लैजाने र फेरि हतियारको उल्लेख नगर्ने। यो त मिलेन नि, गिरिजा बाबुलाई कसरी पत्यार दिलाउने? अनि गिरिजाबाबु बेस्कन हाँस्नु भयो।
सेतो रूमालले अनुहार पुछ्दै फेरि भन्न थाल्नु भो, ‘बुझ्यौ ? हाम्रा एकसेएक क्रान्तिकारीहरुले सशस्त्र क्रान्तिका दौरान प्रयोग गर्नका लागि मैले दिएको हतियारहरू गुपचुप राख्थे। कतिपयले अपराधीहरूलाई पनि बिक्री गर्दथे। अनेक गरेका छन्। जबकी रामबाबु यस्ता (इमान्दार) थिए। आफ्नै प्रकारको इमान्दार र एकलकाँटे मानिस।’
म सुनिरहेको थिएँ, एकाग्र भई। दिल्ली साउथ एक्सटेन्सनको ‘होटल रामदा इन’ मा म गिरिजाबाबुसँगै उही कोठामा बसेको थिएँ। जनमत संग्रह पछिको कुरा हो यो। गिरिजाबाबु ‘सोसलिष्ट इन्टरनेशनल’ को बैठकमा भाग लिन जर्मनी जाने क्रममा त्यहाँ बस्नु भएको थियो। म पनि बिभिन्न कुराहरू छाप्ने र उता पठाउने प्रयोजनका लागि गएको थिएँ।
सुशीलदा (पूर्वप्रधानमन्त्री सुशील कोइराला) त्यसअघि नै जर्मनीतिर लागिसक्नु भएको थियो। अनि हाँस्दै गिरिजाबाबुले भन्नु भो, ‘यस्ता धेरै अनुभवहरू छन् साथीहरूको! हिजो (२३ असोज) रामबाबु रहनु भएन। मेरो मनमा पनि यी सम्झनाहरू तैरिन थाले, रामबाबुकै बारेका अनेक सम्झनाहरू!