नेपाली चिकित्सक भन्छन्- क्यान्सरबाट गुमेको स्तन नेपालमै बनाउन सकिन्छ-Sutra News

नेपाली चिकित्सक भन्छन्- क्यान्सरबाट गुमेको स्तन नेपालमै बनाउन सकिन्छ

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं– अक्टोबर महिनालाई विश्वभर नै ‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालन गरिएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ।



यसैक्रममा स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाएका छन्। ‘नेपाल क्यान्सर सरभाइबर्स सोसाइटी’ ले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आयोजना गरेको वेभ कार्यक्रमका सहभागीले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका हुन्।

स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर सुरु–सुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेको, तर पछि शल्यक्रिया गरेपछि निको भएको बताउँछिन्।

‘यो रोग लागेपछि बाँचिन्न कि भन्ने डर लाग्यो। शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर शक्ति पाएँ’ उनले भनिन्, ‘सुरु सुरुमा किमो दियो कि कपाल झरिहाल्थ्यो। अहिले त नभएको कपाल पनि राम्रो लाग्छ। कपाल झरेर झन् नयाँ कपाल आयो। कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ।’

सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गरिन्। अर्का स्तन क्यान्सर स्मीता घिमिरे पनि क्यान्सर भएरपछि मरिन्छ कि भनेर डराउन नहुने बताउँछिन्। ‘ममा ऊर्जा भएर नै हाँसेर क्यान्सरलाई जितेको छु। बरु अहिले कोभिड–१९ सँग डराएको छु’ उनले थपिन्, ‘रोगसँग डराउने होइन, लड्ने हो।’

नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा.प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी दिए। स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको उनले बताए।

डा.शाक्यका अनुसार, क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि अर्को स्तन बनाउन सकिन्छ। ‘नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ’ उनले भने, ‘नेपालमा यस सम्बन्धी धेरै विज्ञ छौँ। नयाँ स्तन बनाउन सम्भव छ। कसैलाई इच्छा छ भने शल्यक्रियमार्फत नयाँ स्तन बनाइदिन सक्छौँ।’

उनले रेजिना मुल्मीको पहिलो पटक शल्यक्रिया गरेर स्तन बनाएको जानकारी पनि दिए। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा.अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरी उपचार गरे निको हुने बताए। स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी पनि उनले दिए।

त्रिविवि शिक्षण अस्पताल ड.सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने जनाइन्। ‘किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्’ उनले भनिन्, ‘सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन्।’ डा.हिराचनका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ।

स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामाले पनि किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिए।  ‘सरभाइबर्स सोसाइटी’ का कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनिको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ। विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ। ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट