नाती-नातिनाको माया खोस्दै मोबाइल-Sutra News

नाती-नातिनाको माया खोस्दै मोबाइल

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- ‘तेरो भाइ त एकनास मोबाइल हेरेर खितिति हाँस्छ,’ हजुरआमाको गुनासो थियो,’ बन्द (मेरी हजुर आमालाई ‘लकडाउन’ उच्चारण गर्न आउँदैन्) का बेला घर आएको नातीको ताल यस्तो। उनीहरुलाई हामी बुढाबूढीसँग यसो एकैछिन बसेर बोल्ने फुर्सदै नहुने।’



हजुरआमाको यो गुनासो मलाई सोच मग्न बनायो। कोरोनाको त्रास संसारभर फैलिरहेको बेलामा भाइ र म गाउँ (काठमाण्डू खाल्डो छाडेर काभ्रे जाने मौका जो जुरेको थियो) गएका थियौँ। बल्लबल्ल नातानातिनी घर आएकोमा हजुरबुवा–आमाको मुहार उज्यालो थियो। तर, नातानातिनी आफूसँग खेल्नुपर्नेमा मोबाइलसँग खेलेकोमा दुखेसो पनि।

‘जो पनि मोबाइलमा घोत्लेर बसेको देख्छु, के जवाना आयो–आयो ?’ हजुरआमाको गुनासोको ‘भोल्युलम’ बढ्दै गयो,’ अजि बाजे (हजुरबुबाआमालालई हाम्रोतिर गरिने सम्बोधन) भनेको त पराई जस्तै भइसक्यो अहिलेका भुराभुरीलाई।’

अहिलेको जवाना यस्तै हो भनी उहाँलाई शान्त पार्न कोसिस गरेँ। नातानातिनीको तन, मन मोबाइलमा गएकाले आफू वेवास्ताको पात्र भएको उहाँको निष्कर्ष थियो। मलाई थाहा छ, आजभोलि हरेक घरका ज्येष्ठ सदस्यको पीडा हो यो। व्यस्त जीवनशैली अनि युवापुस्तामा माझ लोकप्रिय बन्दै गएको ग्याजेटप्रतिको मोहले सबै नाता सम्बन्धलाई फिका बनाइरहेको छ।

‘घरमा बुढा हजुरबुवा–आमा के गर्दै हुनुहुन्? कसरी दिन बिताइराख्नु भएको छ? के खानु भयो/भएन?’ त्यता कसको पो ध्यान जान्छ र अचेल। कुनै समय हजुरबुवा–आमा हाम्रा सबैभन्दा प्रिय साथी हुन्थेँ। गुटुटु कुदेर उहाँहरुको काखमा बसेर घत लाग्दा कथा सुन्ने समय थियो। त्यही काखमा लठ्ठ परेर सुत्थ्यौँ अहिले कथा सुन्न हजुरबुवा–आमा चाहिँदैन। हजुरबुवा–आमाको न्यानो काख मोबाइलले ‘रिप्लेस’ गरेको छ। उनीहरुलाई मोबाइलले कथा सुनाउँछन्, मोबाइलले सुताउँछन्। उहाँहरुसँगको सम्बन्ध र सामिप्यतालाई मोबाइलको मनोरञ्जनले खोसिदिएको छ।

‘यत्रो समय बन्द भयो खै त नाती केटो एकचोटि फर्केर आएन,’ गाउँकै ७५ वर्षीया छिमेकी हजुरबुवाको छुट्टै व्यथा छ, ‘सानो छँदा यही काखमा खेलाइयो, हुर्काइयो। खै त नातानातिनीले नसम्झिने रहेछ।’ ‘आएनी के, नआए के र?’ अर्की हजुरआमा गुनासो पोख्नुहुन्छ ‘त्यही मोबाइललाई काखी च्याप्ने त होनी। हामी बूढाबूढी यसै एक्लो उसै एक्लो।’

‘आम बुवाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि’ भन्ने उहिलेको उखान बदलिएर अहिले ‘हजुरबुवा–आमाको मन नातानातिनीमाथि नातानातिनीको मन मोबाइलमाथि’ भएको छ।

नातानातिनी भेट्न गएका केही समयअघि गाउँबाट काठमाडौं पुगेका ७० वर्षीय तुलबहादुर श्रेष्ठ खुसी होइन निराश भए। हजुरबुवा भन्दा नातानातिनीले मोइबालको बढ्नता वास्ता गरेकामा उनको चित्त दुखाइ छ। ‘जचाउन काठमाडौँ गएको थिएँ, दिनभरि कोठामा बस्दा बस्दा वाक्कै लाग्यो,’ चाउरी परेको अनुहारमा दुःख लुकाउन खोज्दै उनले सुनाए, ‘हजुरबुवा आएको भन्दा मोबाइल हेर्न पाउँदा खुशी हुन्छन्, हामीलाई त बोझ जस्तै ठान्छन्। मलाई त कहिले गाऊँ फर्किऊँ जस्तै भएको थियो।’

काठमाडौँ, मैतीदेवी बस्ने ७१ वर्षिया फुलकुमारी तामाङ पनि एक्लोपनबाट अछुतो छैनन्। उनी दमको रोगी छिन्। यही रोगका कारण लामो समयदेखि काठमाडौँमा बस्दै आएकी छिन्। घरको गेटबाहिरको संसारदेखि उनी टाढा रहेको बताउँछिन्।

‘बूढा, बुहारी कहिले यता कहिले गाउँमा बस्छन्। यता छोरा र नातीसँग बस्छु,’उनी भन्छिन्, ‘छोरो अफिस जान्छ। नाती केटो दिनभर मोबाइलमा झुन्डेर बस्छ। के खायो खाएन अहँ! वास्ता गर्दैन। बोलाएको पनि सुन्दैन। रात–दिन कोठाको भित्ता हेर्दै बित्छ मेरो त।’ अस्ताउन लागेको जीवन र एक्लोपनको दिकदारीले दिक्क भएकी फुलुकुमारी परिवार भएर पनि एक्लो महसुस गर्छिन् उनी।

काठमाडौं, नयाँ बानेश्वरकी ६९ वर्षिया मिना कुमारी सुनुवार गाउँबाट शहर आएकोमा पटक्कै खुशी छैनन्। भन्छिन्, ‘छोरा–बुहारीले शहर जाऊँ भनेर ल्याइहाले। गाउँमा पनि के एक्लै बस्नु भनेर आइयो यता त झन्, दिक्क लाग्यो।’

भावुक हुँदै उनी थप्छिन्, ‘छोरा बुहारी काममा जान्छन्। नातानातिनीको पढ्नु लेख्नु भन्छन्। यसो फुर्सदमा पनि मोबाइल ल्यापटप च्याप्छन्। बोल्न गयो झन्झन्ट माने जस्तो गर्छन्। बरु एक्लै कोठामा बसेर बत्ती काट्छु यसै गरी दिन बिताउँछु।’

यो उमेरमा नजिकको साथी खोज्छन्, हजुरबुवाआमा। नजिक अनि असल साथीको रुपमा नातानातिनीलाई नै रोज्छन्। उनीहरुको झुकाव पनि नातानातिनीहरुप्रति नै बढी हुन्छ। मायाले दुई वचन मीठो बोलिदिने मान्छे भएपनि मख्ख पर्छन् उनीहरु। तातो पानी तताएर खान दिए पनि खुशी हुन्छन्। नातानातिनीको कलिलो आँखाबाट संसार देख्ने चाहना राखेका हुन्छन्, उनीहरुल।

त्यो साथी के हामी बन्न सक्दैनौँ र?

मेरी एउटी साथी बविता गुरुङ आजभोलि हाम्रो र त्योभन्दा पछाडिको पुस्ता मोबाइलप्रति बढी आकर्षित भएको बताउँछिन्। घरमा बूढो अवस्थामा पुगेका हजुरबुवा–आमाप्रति हाम्रो कमै ध्यान भएकोमा उनी सहमत छिन्। भन्छिन्, ‘मेरो घरमा पनि बुढीआमा छिन्। कति गुनासो गर्नुहुन्छ। एक त राम्रोसँग कान सुन्न सक्नुहुन्न। कोही मोबाइल कोही टिभीमा व्यस्त हुन्छन्।’

बवितालाई पनि आफूले हजुरआमालाई समय दिन नसकेकोमा दुःख लाग्छ। भन्छिन्, ‘जब उहाँको पीडा बुझेँ आफू घर गएको बेलामा मोबाइल सोबाइल साइडमा राखेर उहाँसँग गफ गर्छु, रमाइलो गर्छु। कति खुशी हुनुहुन्छ। टाढा हुँदा पनि यसो भिडियो कल गरेर खुसी पार्छु।’

यो कुराले मलाई पनि राम्रै प्रभाव पा¥यो। कतै मैले पनि घरमा भएको मेरी हजुरआमालाई समय दिन सकिनँ कि भन्ने लाग्यो। त्यसपछि बचेकुचेको फुर्सदको समय मोबाइललाई दिनु साटो हजुरआमासँग बिताउन थालेँ। नजिकको साथी बन्न थालेँ। उहाँसँग दिनमा केही समय भए पनि बसेर कुराकानी गर्न थालेँ। उहाँको कुरा सुन्ने र आफूले जानेको कुरा सुनाउन थालेँ।

कति आनन्द मान्नुहुन्छ हजुरआमा। बिरामी परेको बेलामा रमाइला रमाइला कुरा गर्ने गर्छु,रोग-व्यथा नै भुलिदिनुहुन्छ। कहिलेकाँही हात समातेर बाहिर डुलाउन लैजान्छु, बाहिरी संसारलाई नियाल्न पाउँदा हर्षित र आनन्द महसुस गर्नुहुन्छ।

मोबाइलले हामीलाई नक्कली संसार देखाउँछ तर हजुरबुवा–आमाले हामीलाई सक्कली अर्थात वास्तविक संसार देखाउँछन्। त्यसैले घरमा भएका हजुरबुवा–आमाको एक्लोपनको सहारा र दिक्कदारीको औषधि बन्न सक्छौँ। केही समय भए पनि हजुरबुवा-आमालाई दिऔँ र असल साथी बन्नौँ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट