सप्तरीमा प्रदेशसभा सदस्यसहित २७ संक्रमित-Sutra News

सप्तरीमा प्रदेशसभा सदस्यसहित २७ संक्रमित

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सप्तरीका प्रदेशसभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा संक्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन्।



राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका हुन्।

कोरोना संक्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना संक्रमित भएका छन्।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना संक्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन्। मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट