चिनियाँ एप विच्याटको मोबाइल पेमेन्ट सेवा नेपालमा-Sutra News

चिनियाँ एप विच्याटको मोबाइल पेमेन्ट सेवा नेपालमा

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- एनएमबी बैंक र टेन्सेन्ट होल्डिङ लिमिटेडबीच सम्झौतापछि चिनियाँ एप विच्याटको मोबाइल पेमेन्ट सेवा नेपालमा पनि उपलब्ध हुने भएको छ।



चीनमा लोकप्रिय रहेको विच्याट म्यासेजिङ, सामाजिक सञ्जाल र मोबाइल पेमेन्टका लागि समेत चर्चित छ। यो बहुउपयोगी एपलाई वैधानिक रुपमा नेपाल ल्याउन एनएमबी बैंक विच्याटको प्यारेन्ट कम्पनी टेन्सेन्टको आधिकारिक साझेदार बनेको हो।

एक अर्ब १७ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेको विच्याट विश्वकै प्रभावशाली मोबाइल प्रडक्ट बनेको छ। ‘टेन्सेन्ट होल्डिङ लिमिटेडसँग सोझो रुपमा साझेदार बन्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौं,’ एनएमबी बैंकले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘एनएमबी बैंक ग्राहकको अनुभवलाई बढावा दिन नयाँ नयाँ प्रडक्टका साथ नेपालको डिजिटल बैंकिङको धरातललाई नै स्तरोन्नती गर्दै लगिरहेको छ।’

नेपालका लागि चिनियाँ पर्यटकको विशेष महत्व छ। त्यस हिसावले चिनियाँ पर्यटक नेपाल आउँदा उनीहरुका लागि विच्याट नै सबैभन्दा सहज भुक्तानीको माध्यमको रुपमा रहनेछ।

यो सहकार्यले चिनियाँ पर्यटक नेपाल आउँदा आइपर्ने मुद्रा विनिमयको समस्या समाधान गर्नुका साथै उनीहरुलाई नेपालमा थप खर्च गर्नका लागि समेत प्रोत्साहन पुग्ने र देशको विदेशी मुद्रा संचितिमा समेत टेवा पुग्ने विश्वास एनएमबी बैंकले व्यक्त गरेको छ।

‘यो सहकार्यले अन्य ढोकाहरु समेत खोलेको प्रति हामी निश्चिन्त छौं,’ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ। यस अघि चिनियाँ पर्यटकहरुले नेपालमा चिनियाँ लगानीमा खुलेका होटेल तथा रेस्टुरेन्टमा विच्याटमार्फत भुक्तानी गर्दा नेपालले ठूलो धनराशी गुमाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट