जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण उच्च-Sutra News

जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण उच्च

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

महोत्तरी- पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) संक्रमणमा पर्ने क्रम बढेको छ। सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना संक्रमण पुष्टि भएको हो।



नगरप्रमुख साह आफैंले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन्। ‘पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो’, प्रमुख साहले भने, ‘सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो।’

अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ। भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि संक्रमित भएका छन्। अहिले महतो संक्रमणमुक्त भैसकेका छन्।

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को संक्रमणको चपेटामा परेका छन्। अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका छन्। गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो। यद्यपि महतो र मण्डल दुवै संक्रमणमुक्त भैसकेका छन्।

महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो। जनप्रतिनिधि र सञ्चारकर्मी आफैंले संक्रमण पुष्टिबारे सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट