नवलपुर- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना) मा सोमबार सडेको अवस्थामा एउटा मृत गैंडा फेला परेको हो।
करिब ३०–३५ वर्षको भाले गैंडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। गैंडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए।
सडेको अवस्थामा भेटिएको मृत गैंडा अर्को भाले गैंडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ। मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ।
चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौ वटा गैंडाको मृत्यु भइसकेको छ। असोज महिनामा मात्रै छ वटा गैंडा मृत भेटिएका छन्। गैंडाको मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए।