भरतपुर महानगर झिलीमिली बन्दै-Sutra News

भरतपुर महानगर झिलीमिली बन्दै

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

चितवन- भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो।



महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिइन्। गएको शनिबार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ। यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उनले बताए। काम सुरु भएपछि ६ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ।

विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ। प्रमुख दाहालले भनिन्, ‘यसले महानगरको सौन्दर्यता बढाउने छ।’ आम महानगरवासीले थप सुविधा पाउने पनि महानगरको अपेक्षा छ। देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ।

स्मार्ट स्ट्रिट लाइट जडानको बोलपत्र सेफ स्टिल, सूर्योदय ऊर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौंलाई परेको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले महानगरमा ७७ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान हुने बताए। भरतपुर महानगरको केन्द्रीय बस ट्रमिनल चोक, आँपटारी चोक, पुलचोक, लायन्सचोक र चौबीसकोठीमा अग्ला पोलहरुमा चारैतिर बत्ती राखेर उज्यालो बनाइने छ।

उनका अनुसार ती ठाउँहरुमा रङ्गशालाका जस्ता बत्ती जडान हुनेछन्। यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पुलचोकबाट आँपटारीसम्म, रामनगरबजार, बाइपास रोड, पुलचोकबाट शरणपुरसम्म, शहीदचोकबाट यज्ञपुरीसम्म र चौबीसकोठीबाट मालपोत चोकसम्म बत्ती जडान गरिने छ।

दूरसञ्चार रोड, बालमन्दिर रोड, वीरेन्द्र क्याम्पस चोकबाट विशाल चोकसम्म, भरतपुर अस्पतालबाट हाकिमचोकसम्म, बाइपास रोडको गणेशस्थानबाट गोन्द्राङ्ग हुँदै पदमपुर चोकसम्म, बसेनी चोकबाट रिङरोडसम्म र त्रिचोकबाट बुद्धचोक हुँदै क्यान्सर अस्पताल चोकसम्म बत्ती जडान गरिने उनले जानकारी दिए।

चोकबजार, हाकिमचोकबाट बुद्धचोकसम्म, चौबीसकोठीबाट रामपुरसम्म, शारदानगर, चनौली, मेघौली, गीतानगर, पकौडी, जगतपुर शिवनगर, ध्रुव र पटिहनी बजारसँगै प्रचण्डमार्गमा समेत बत्ती जडान हुनेछ।

प्रमुख महतोका अनुसार ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना पोल प्रयोग गरिनेछन्। ती सबै बत्ती बाल्न र निभाउन, मधुरो र चहकिलोलगायत सञ्चालनको काम एउटै नियन्त्रणकक्षबाट हुनेछ। एक–एक बत्तीको नियन्त्रण सोही कक्षबाट गरिनेछ।

यसको मुख्य सर्भर काठमाडौंमा रहने र यहाँ पनि नियन्त्रणकक्ष हुने उनले जानकारी दिइन्। सडक विद्युत्मा देशकै नमूना काम हुन लागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट