‘कर्णाली विद्रोह’पछि नेकपाले प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलायो-Sutra News

‘कर्णाली विद्रोह’पछि नेकपाले प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलायो

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले अविस्वासको प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलाएको छ।



मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफलमा नेकपा कर्णाली प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलाउन पत्र पठाउने सहमति भएको हो। छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा समेत सहभागी थिए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाअनुसार उनीहरुलाई बिहीबार काठमाडौं बोलाइएको हो। नेकपा कर्णाली प्रदेशका इन्चार्ज शर्मा हुन भने ‘कर्णाली विद्रोह’को नेतृत्व गरेका यमलाल कँडेल सहइन्चार्ज हुन्।

आइतबार मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ सांसदले दलभित्र अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। जसमा पूर्व माओवादीका समेत ३ सांसद थिए।

कर्णाली प्रदेशको विद्रोहबारे सोमबार पनि अध्यक्षद्वयबीच छलफल भएको थियो। ओलीलाई भेटेर प्रचण्डले ‘कर्णालीमा जे भयो त्यो राम्रो नभएको’ भन्दै प्रधानमन्त्रीले त्यसलाई मिलाउनुपर्ने बताएका थिए।

कर्णलीको तरङ्ग काठमाडौंसम्मै आइपुगेको थियो।

यसबीचमा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहले संसदीय दलका नेतासमेत रहेका शाहीसँग परामर्श नगरी बैठक राखेका थिए। प्रत्युत्तरमा मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरिदिए। मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सचेतक सीताकुमारी नेपालीलाई नियुक्त गरिदिए।

कर्णाली प्रदेशको घटनाक्रमलाई लिएर पछिल्ला दुई दिनमा नेकपाभित्र तीब्र आन्तरिक राजनीतिक भेटघाट र सम्वाद भए।

शाहीमाथि दबाब बढाउन राजीनामा दिने तयारी गरेका केही मन्त्री केन्द्रबाट भएको हस्तक्षेपपछि रोकिएका छन्। ओली पक्षले ‘अहिले राजीनामाको हतारो नगर्नुस्’ भनेपछि उनीहरु हच्किएका हुन्।

अर्कातिर नेकपाको माधव नेपाल समूह अविस्वास प्रस्तावबाट बाहिरिएपछि त्यो त्यतिकै तुहिने सम्भावना बढेको छ। नेता नेपालले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई सुर्खेत पठाएर आफू पक्षधर हस्ताक्षरकर्ता ७ जनालाई सम्झाएपछि उनीहरु पछि हटेका हुन्।

आफूविरुद्धको अविश्वास प्रस्ताव असफल पार्न नेता माधवकुमार नेपाल समूहले साथ दिने भएपछि मुख्यमन्त्री शाही नेपाल समूहका सांसदलाई मन्त्री बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न तयार भएका छन्। त्यसका लागि नेपाल समूहले आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।

मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट