प्रचण्ड सचिवालयले भन्यो- कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो-Sutra News

प्रचण्ड सचिवालयले भन्यो- कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविस्वास प्रस्तावलाई ‘अराजनीतिक गतिविधि’ भन्दै त्यो असफल भएको जिकिर गरेको छ।



प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न भूमिका खेल्नेहरुलाई बधाइसमेत दिएकी छन्।

‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ,’ दाहालले फेसबुकमा लेखेकी छिन्, ‘पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भूमिका खेल्नुहुने सम्पूर्ण कमरेडहरुलाई बधाइ छ।’

आइतबार कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै दलका १८ सांसदले दलभित्र अविस्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसलाई लिएर तातिएको राजनीति मंगलबार केही शान्त भएको छ।

मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफलमा नेकपा कर्णाली प्रदेश कमिटी पदाधिकारीलाई काठमाडौं बोलाउन पत्र पठाउने सहमति भएको हो।

शाहीमाथि दबाब बढाउन राजीनामा दिने तयारी गरेका केही मन्त्री केन्द्रबाट भएको हस्तक्षेपपछि रोकिएका छन्। ओली पक्षले ‘अहिले राजीनामाको हतारो नगर्नुस्’ भनेपछि उनीहरु हच्किएका हुन्।

अर्कातिर नेकपाको माधव नेपाल समूह अविस्वास प्रस्तावबाट बाहिरिएपछि त्यो त्यतिकै तुहिने सम्भावना बढेको छ। नेता नेपालले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई सुर्खेत पठाएर आफू पक्षधर हस्ताक्षरकर्ता ७ जनालाई सम्झाएपछि उनीहरु पछि हटेका हुन्।

आफूविरुद्धको अविस्वास प्रस्ताव असफल पार्न नेता माधवकुमार नेपाल समूहले साथ दिने भएपछि मुख्यमन्त्री शाही नेपाल समूहका सांसदलाई मन्त्री बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न तयार भएका छन्। त्यसका लागि नेपाल समूहले आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।

मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट