Logo

मंगलवार, कार्तिक ४ गते २०७७

जुन टेलिकमले भाइ अनिललाई बनायो कंगाल, त्यही टेलिकमले दाजु मुकेशलाई बनायो मालामाल

जुन टेलिकमले भाइ अनिललाई बनायो कंगाल, त्यही टेलिकमले दाजु मुकेशलाई बनायो मालामाल

विकास बहुगुणा

२८ आश्विन २०७७
  • 435
    SHARES
  • जुन टेलिकमले भाइ अनिललाई बनायो कंगाल, त्यही टेलिकमले दाजु मुकेशलाई बनायो मालामाल
    मुकेश (बायाँ) र अनिल अम्बानी

    १९२० को दशकमा सुरु भएको ‘डासलर ब्रदर्श शु फ्याक्ट्री’ नामको एउटा कम्पनीले केही वर्षभित्रै जर्मनीमा तहल्का मच्चाउन थाल्यो । खेलाडीका लागि आवस्यक पर्ने जुत्ता निर्माण गर्ने यो कम्पनीको सञ्चालन एडोल्फ र रुडोल्फ नामका दुई भाईले गरेका थिए । सुरुमा एडोल्फले सुरुवात गरेको यो कम्पनीमा पछि भाई रुडोल्फ पनि मिसिन पुगेका थिए । राम्रो आम्दानीसहित कम्पनी राम्रैसँग चलिरहेको थियो ।

    तर, जब विश्वयुद्ध सुरु भयो, परिस्थिति विस्तारै बिग्रन थाल्यो । युद्ध सुरु भएपछि अमेरिकी सेनाले रुडोल्फलाई पक्राउ गरी जेलमा कोचिदियो । उनी नाजी पार्टीको हतियारबद्ध टुकडीका सदस्य भएको अमेरिकी सेनाको आरोप थियो । आरोपमा सत्यता भने थिएन । हतियारबद्ध टुकडीको सदस्य नभएपनि दुबै दाजुभाई नाजी पार्टीको सदस्य भने थिए ।

    रुडोल्फलाई शंका लाग्यो, भाई एडोल्फले फसाएर मलाई जेलमा पुर्याएको हो कि ? दाजुमा पल्हाएको शंकाका कारण दुईबीचको सम्बन्धमा फाटो आउन थाल्यो । त्यसपछि दुबै दाजुभाई अलग अलग अघि बढ्ने निर्क्योलमा पुगे ।

    आपसमा फाटो आएपछि उनीहरुले अलग–अलग कम्पनी बनाए । रुडोल्फले आफ्नै नाम सुहाउँदो ‘रुडा’ नामको कम्पनी स्थापना गरे । पछि यसको नाम परिवर्तन गरियो । र, ‘प्युमा’ राखियो ।

    एडोल्फले पनि आफ्नै नाम सुहाउँदो कम्पनी अघि बढाए । त्यो कम्पनीलाई अहिले सारा विश्वले ‘एडिदास’ नामले चिन्दछ ।

    करिव एक दशक पहिले आपसी झगडापछि मुकेश अम्बानी र अनिल अम्बानीले यसरी नै अलग अलग बाटो तय गरेका थिए । केही समयसम्म लाग्थ्यो कि, दुबै अम्बानी दाजुभाई रुडोल्फ र एडोल्फ जस्तै तरक्कीको मार्गमा छन् । विश्लेषकहरुले विश्लेषण गरेका थिए, ‘दाजुभाईबीचको यो झगडा व्यापारिक दुनियाँका लागि फाइदाजनक नै हुनेछ ।’

    त्यतिबेलासम्म तथ्याङ्कहरुले गरेको संकेत पनि यस्तै थियो । अर्बपतिहरुको सूची सार्वजनिक गर्ने पत्रिका ‘फोर्ब्र्स’ ले सन् २००७ मा ४३ अर्ब डलरका साथ मुकेशलाई विश्वका पाचौँ अर्बपतिहरुको सूचीमा राखेको थियो । अनि, ४२ अर्ब डलरका साथ अनिललाई छैटौँ सूचीमा देखिएका थिए । अम्बानी दाजुभाईको प्रगतिको गति तीब्र गतिमा दौडने गाडीको जस्तै लाग्थ्यो ।

    तर, यो स्थिति लामो समय रहेन । छिट्टै स्थितिमा फेरबदल आउन थाल्यो । मुकेशले आफ्नो स्थिति अरु मजबुत पार्दै गए । तर, अनिल अम्बानी चढेको डुङ्गा भने हिलैहिलोले भरिएको तलाउमा फस्न पुग्यो ।

    मुकेशका भाई अनिलको स्थिति बिग्रेर अहिले यस्तो भइसक्यो, केही दिन अहिले लण्डनको एक अदालतमा अनिलले नै लाचारीका साथ बयान दिए, ‘मुद्दा लड्नका लागि वकिललाई तिर्ने शुल्कसमेत मैले घरको गहनासमेत बेचेर जुटाएको हुँ ।’

    तीन चिनियाँ बैंकले अनिल अम्बानी नेतृत्वको कम्पनीलाई दिएको पाँच हजार करोडको ऋण चुक्ताका सम्बन्धमा चलेको मुद्दाको सुनुवाईका क्रमा अनिलले यस्तो हैरानी पोखेका थिए ।

    अनिलले लिएको ऋणको सावाँ–ब्याज तिर्न नसकेपछि ती चिनियाँ बैंकहरु उनका सबै कम्पनी बेचेर भएपछि आफ्नो ऋण असुलउपर गर्न चाहन्छन् ।

    भलै, वकिललाई तिर्नुपर्ने शुल्कका लागि घरको गहना बेच्नु परेको दावी अनिल अम्बानीले आफ्नो बचाउका लागि मात्र गरेका हुन सक्छन् । तर, यो कुरा चाहिँ साँचो हो, सन् २००७ मा अनिलको जुन हैसियत थियो, त्यो हैसियत अहिले छैन । उनी झण्डैझण्डै टाट पल्टेको स्थितिमा छन् ।

    दाजु मुकेश अम्बानीको तरक्कीको रफ्तार भने अझ तीब्र छ । करिव ८९ अर्ब डलर सम्पतिका साथ विश्वका पाचौँ धनी व्यक्तिमा पर्छन् उनी अहिले । यस वर्ष उनको ढुकुटीमा २२ अर्ब डलर भन्दा बढी थपिएको छ । केही समय पहिले मुकेशले करिव ४५३ करोड इरिक्सन कम्पनीलाई दिएर आफ्ना भाई मुकेशलाई जेल जानबाट जोगाएका थिए ।

    यी दुई भाईको यो उतार चढावमा एउटै क्षेत्र दुरञ्चार अर्थात् टेलिकम कम्पनीले भूमिका खेलेको छ ।

    करिव एक वर्षसम्म चलेको तनावपछि मुकेश र अनिलबीच २००५ मा रिलायन्स कम्पनीको भागबण्डा भएको थियो । यसमध्ये सो कम्पनी चलाउने इन्जिन मानिएको रिलायन्स इन्डष्ट्रिज लिमिटेड (आरआइएल) मुकेशको भागमा परेको थियो । उता, ‘रिलायन्स इन्फोकम’ को भविष्य सञ्चालन गर्ने इन्जिन मानिएको रिलायन्स कम्युनिकेशन्स (आरकम) अनिलको भागमा पर्यो । दाजुभाईबीचको सम्झौताको खाका आमा कोकिला बेन लगायत परिवारका अन्य सदस्य र शुभचिन्तकहरुले कोरिदिएका थिए ।

    जानकारहरुका अनुसार, ‘रिलायन्स इन्फोकम’ मुकेशको अत्यन्त प्रिय कम्पनी थियो । सम्पत्ति बाँडफाँटका क्रममा त्यसलाई छाड्नुपर्दा उनको मन निकै गह्रौँ भएको थियो ।

    अनिलले ‘रिलायन्स इन्फोकम’ त हात पारे । तर, त्यसलाई गम्भीरतापूर्वक अघि बढाउने गरी उनले रणनीतिक कदम चाल्न सकेनन् । त्यसको सेयर संरचनामा उनी भन्दा दाजु मुकेश नै शक्तिशाली थिए । त्यसको ५०.५० प्रतिसत सेयर स्वामित्व मुकेश र उनकी श्रीमति नीता अम्बानीको ‘रिलायन्स कम्युनिकेशन्स इन्फ्रास्ट्रक्चर लिमिटेड’ नामको कम्पनीको थियो ।

    यसका अलावा कम्पनीमा ४५ प्रतिसत सेयर ‘आरआईएल’ को थियो र त्यसको बोर्डमा पनि मुकेश अम्बानीकै प्रभुत्व थियो । त्यसैले होला, डिसेम्बर २००३ मा ‘रिलायन्स इन्फोकम’ को उद्घाटनका अवसरमा अनिललाई निम्तो समेत पठाइएन ।

    यसका बाबजुद रिलायन्स इन्फोकम अनिलको हातमा परिसकेको थियो । र, मुकेश यो नियतिलाई चुपचाप सहन बाध्य थिए ।

    उतिबेलाको स्थिति हेर्दा के लाग्थ्यो भने, केही वर्षभित्रै भाई अनिलले सम्पत्तिको मामिलामा दाजु मुकेशलाई पछि पार्नेछन् । किनकी, त्यो दुरसञ्चारको क्षेत्रमा नयाँ क्रान्तिको जमाना थियो । स्मार्ट फोन, इन्टरनेट र मोवाइल डाटाको प्रयोग बढिरहेको थियो । त्यसैले, अनिल अम्बानीको कारोबार र आम्दानीको भविष्य उज्वल देखिन्थ्यो ।

    यस सिलसिलामा मेक्सिकन व्यापारी कार्लोस स्लिमको सन्दर्भ उल्लेख गर्नै पर्ने हुन्छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूला दुरसञ्चार कम्पनी ‘मोबिल’ का ‘सुप्रिमो’ हुन्, कार्लोस । आम्दानीमा भएको ‘दिन दुगुना, रात चौगुना’ बढोत्तरीका कारण कार्लाेस सन् २०१० मा विश्वका सबैभन्दा धनी व्यक्ति बने । उनको यो हैसियत सन् २०१३ सम्म कायम रह्यो । आजपनि ५० अर्ब डलरका साथ कार्लोस र उनको परिवार अर्बपतिहरुको सूचीमा १२ औँ नम्बरमा छन् ।अब प्रश्न उठ्छ, कार्लाेसले झैँ अनिल अम्बानीले चाहिँ यो कारोबारबाट किन लाभ लिन सकेनन् ? दुरसञ्चार नामको यो पारशमणि उनको हातबाट कसरी डुब्न पुग्यो ? जुन ‘आरकम’ को बजार पूँजी २००८ मा डेढ लाख करोड भन्दा ज्यादा थियो, त्यो कसरी रातारात माटोमा मिल्न पुग्यो ?

    यसको प्रमुख कारण दुरसञ्चार क्षेत्रमा सुरु भएको उच्च प्रतिस्पर्धा हो । यस क्षेत्रमा चुलिदो प्रतिस्पर्धा अनिल अम्बानीका लागि निकै भारी पर्न गयो ।

    १९९० को दशकमा जब भारतमा मोवाईल सेवा सुरु भयो, त्यतिबेला पुरै देशलाई ‘मेट्रो– ए, बी, सी’ जस्ता २३ वटा घेरामा बर्गिकरण गरिएको थियो । बर्गिकरण राजश्वको सम्भावनालाई मध्यनजर गर्दै गरिएको थियो ।

    ‘मेट्रो ए’ को घेरामा आम्दानीको सम्भावना सबैभन्दा बढी थियो । २००८ सम्म सबै सर्कलमा पाँचदेखि ६ वटासम्म कम्पनीले सेवा प्रदान गर्न थालिसकेका थिए । सोही साल सरकारले ८ नयाँ सञ्चालक कम्पनीलाई लाइसेन्स प्रदान गर्यो । यसले गर्दा देशभर यस्ता कम्पनीको संख्या १३–१४ वटासम्म पुग्यो ।

    खासमा त्यो बेला दुरसञ्चार व्यवसायको विस्तार निकै तीब्र रुपमा हुन थालेको थियो । २००८ को विश्वव्यापी मन्दीका बेलासमेत यो कारोबारले निकै तरक्की गरेको थियो । अत्याधिक मुनाफा दिने भएकाले सरकारले पनि दुरसञ्चार रुपी गाईलाई दुहिरहन चाहन्थ्यो । कुनै नयाँ व्यवसायीले चाहनासाथ दुरसञ्चार सम्बन्धी लाइसेन्स प्राप्त गरिहाल्थे ।

    तर, विस्तारै नतिजा उल्टो आउन थाल्यो । ग्राहकलाई आफ्नो सेवातर्फ आकर्षित गर्न दुरसञ्चार कम्पनीहरुले फोन कलको मूल्य सस्तो बनाउनु पर्ने भयो । मूल्य घटाउने होड सुरु भयो । ‘आरकम’ पनि फोन कलको मूल्य प्रतिमिनेट ५० पैसासम्म बनाउन बाध्य भयो । यसबाट ग्राहकलाई त फाइदा भयो, तर दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुको चाहिँ ‘ब्याण्ड बाजा बज्न’ थाल्यो ।

    किनभने, ग्राहकहरुले गर्ने फोनको संख्या र समयावधिमा बृद्धि भएको थिएन । यसले गर्दा दुरसञ्चार कम्पनीहरुले गर्ने आम्दानीमा भारी मात्रामा कमी आयो ।

    निश्चय नै, ग्राहकहरुको संख्या बढेकै हो । तर, खासै फाइदा चाहिँ किन हुन सकेन भने मोवाइल फोनको प्रयोग गर्नेहरुले पनि निकै किफायतीका साथ यसको प्रयोग गर्ने गरेका थिए ।

    दुर सञ्चार सम्बन्धी मामिलाका जानकार मोहित अग्रवालले एउटा लेखमा लेखेका छन्, ‘खासमा जो जो नयाँ ग्राहक आएका थिए, उनीहरु निम्न आय भएका मध्यमबर्गका मानिसहरु थिए । उनीहरु फोन गर्नुको बदला ‘आगमन कल’ को प्रतीक्षामा हुन्थे । अर्थात् आफूले फोन गर्नुभन्दा अरुले नै आफूलाई फोन गरिदिउन् भन्ने चाहन्थे । यसले गर्दा दुरसञ्चार कम्पनीहरुको राजश्व अर्थात् औसत आय घट्न पुग्यो ।’

    एयरटेल र बजारका अन्य खेलाडीसहित अनिल अम्बानीको ‘आरकम’ माथि पनि यसको निकै ठूलो चोट पर्यो । खर्च बढिरहने, तर आम्दानी नहुने हो भने ऋण लिएर खर्च चलाउने बाहेक अर्को विकल्प हुँदैन ।

    त्यो स्थितिमा अनिलले पनि त्यही गरे, जो अन्य व्यापारीहरुले गर्थे । उनी बजारबाट ऋण उठाउनतिर लागे । जहाँबाट लिइएको होस्, ऋण पनि त तिर्नै पर्थ्यो । त्यो ऋण पनि त्यतिबेलामात्र तिर्न सम्भव हुन्थ्यो, जब राजश्व र कमाई बढ्न सक्थ्यो । फोन कलको रेट र अन्य कमाई बढ्ने कुनै संकेत थिएन । किनभने यही ‘विजनेस’ गर्ने अन्य कम्पनी पनि ग्राहकहरु खोजिरहेका थिए ।

    स्थितिमा सुधार आएन, अनिल स्वामित्वको ‘आरकम’ को हालत अरु खराब हुन थाल्यो । ऋण तिर्न ‘आरकम’ ले थप ऋण खोज्न थाल्यो ।

    विस्तारै–विस्तारै परिस्थिति यस्तो बन्न थाल्यो कि, अब उसलाई पुरानो ऋणको ब्याज तिर्न पनि हम्मे हुन थाल्यो ।

    २०१८ मा जब ‘आरकम’ ले नेशनल कम्पनी ल ट्रिब्युनल समक्ष ऋण समस्या समाधानका लागि अनुरोध गर्यो, त्यो बेला उसँग ५० हजार करोड रुपैयाँमात्र बाकी थियो ।

    यसको मतलव यो होइन कि, यो संकट समाधानका लागि अनिलले कुनै प्रयास नै गरेनन् । उनले २०१६ मा ‘आरकम’ को ‘एयरसेल’ सँग ‘मर्ज’ को प्रयास गरेका थिए । कम्पनीको ‘टावर कारोबार’ बिक्रीका लागि नियमावली पनि निर्माण गरिसकिएको थियो । बताइएको थियो कि, यी दुई रणनीति सफल भैदिएको भए ‘आरकम’ को ६० प्रतिसत ऋणको समस्या समाधान हुने थियो । तर, परिणाम निस्कन सकेन ।

    त्यसभन्दा पहिले सन् २०१३ मा अनिलले ‘आरकम’ अन्तर्गत रहेको ‘डिटिएच’ को कारोबार ‘बिग टीभी’ को ‘सन डाइरेक्ट’ सँग गर्ने प्रयास गरेका थिए । तर, यसमा पनि उनर्ला सफलता मिलेन ।

    अन्तिममा ‘बिग टीभी’ को ‘वीकन मिडिया’ को रुपमा खरिदकर्ता भेटियो । तर, उसले कम्पनीको जुन ऋण छ, त्यो अनिलले नै तिनुपर्ने शर्त राखिदियो । अर्थात् कम्पनी बिक्री गरेपनि ऋण चाहिँ अनिलकै थाप्लोमा रहने भयो ।

    यो कारोबारमा तरक्कीका लागि अनिललाई २००८ मा एउटा ठूलो मौका मिलेको थियो । त्यो बेला ‘आरकम’ र दक्षिण अफ्रिकाको एउटा प्रख्यात दुरसञ्चार कम्पनी ‘एमटीएन’ बीच बिलय (मर्ज) का लागि छलफल सुरु भएको थियो । त्यो बिलय सम्भव भइदिएको भए ७० अरब डलरको एक विशाल साझा कम्पनी बन्ने थियो ।

    तर यही बेला दाजु मुकेशले यस्तो खेल खेलिदिए, त्यसले गर्दा भाई अनिल हेरेको हेर्यै भए । अनिलले ‘आरकम’ मा रहेको आफ्नो शेयरको ठूलो अंश ‘एमटीएन’ लाई दिने विषयमा छलफल चलाइरहेका थिए । तर मुकेशले भनिदिए, ‘हामीबीच भएको सम्झौता अनुसार ‘आरकम’ को शेयरको पहिलो हक मलाई लाग्छ ।’ मुकेशले ‘आरकम’ को स्थिति भित्रभित्रै डाँबाडोल बन्दै गइरहेको जानकारी पनि एमटीएनलाई दिएका थिए ।

    सुक्ष्मरुपले हेर्ने हो भने अनिल अम्बानीको पतन हुँदै गर्दा मुकेश चाहिँ निकै जोडबलका साथ समानान्तर रुपमा आफ्ना योजना अघि बढाउँदै थिए । उनी त्यो सम्झौताको समयावधि समाप्त हुने अवसरको पर्खाइमा थिए, जुन सम्झौता दाजुभाईबीच सम्पत्ति बाँडफाँटका क्रममा २००५ मा भएको थियो । अर्थात् करिव १० वर्ष एकले अर्काको विजनेसमा दखल नदिने सम्झौता दुई भाईले त्यो बेला गरेका थिए । सो सम्झौता अनुसार यदि कुनै कम्पनी वा त्यसको शेयर बेच्ने हो भने खरिदको पहिलो अधिकार अर्काे भाईलाई हुने व्यवस्था थियो ।

    ‘आरकम–एमटीएस’ को कुराकानी टुङ्गिएको दुई वर्षपछि मुकेशले अर्काे एउटा रणनीतिक कदम चाले । सन् २०१० मा उनले एक अर्ब डलरमा ‘इन्फोटेल’ नामको एक कम्पनी खरिद गरे । यो त्यही कम्पनी हो, जसले पहिलो पटक पुरा भारतभर ‘ब्रोडब्याण्ड स्पेक्ट्रम’ पाउन सफल भएको थियो । यसका लागि भएको सरकारी लिलाम बढाबढमा १२८४८ करोड रुपैयाँ बोलकबोल गरी सबैलाई पछाडि पारेर उनले हात लगाएका थिए । अर्थात् ‘आरआइएल’ नै एउटा मात्र यस्तो कम्पनीको रुपमा अगाडि आयो, जसले पुरा भारतभर ‘फोरजी’ सेवा दिन सक्थ्यो ।

    त्यसको एक महिना अगाडि मात्र दुई दाजुभाईबीच १० वर्षका लागि भएको ‘एकले अर्को भाइले हात हालेको विजनेसको क्षेत्रमा हात नहाल्ने’ भन्ने सम्झौता रद्द भएको समाचार सार्वजनिक भएको थियो ।

    यो प्रकरणले स्पष्ट पार्यो कि, मुकेश अब आफ्नो ‘ड्रिम प्रोजेक्ट’ को रुपमा रहेको टेलिकम क्षेत्रतर्फ अगाडि बढ्दैछन् । २०११ मा अर्काे खबर आयो, ‘रिलायन्स इन्डस्ट्रिज’ ले कम मूल्यमा तीब्रगतिको डाटा सुविधामात्र दिने योजनामात्र होइन, ‘युटीभी’ जस्ता केही कम्पनीसँग ‘कन्टेन्ट’ का लागि छलफल अगाडि बढाइरहेको छ ।

    २०१३ मा फेरि अर्काे समाचार आयो, मुकेश अम्बानी र सुनिल मित्तलबीच एक सम्झौता भयो । सुनिल त्यो बेला भारतको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनीका प्रमुख थिए ।

    यो सम्झौता अन्तर्गत दुबैले ‘अप्टिकल फाइबर’ सहित दुरसञ्चार क्षेत्रका सबै पक्षमा साझेदारी गर्नेछन् । यसको केही महिना पहिले मुकेशले भाई अनिलसँग पनि यस्तै सम्झौता गरेका थिए ।

    यसबाट पक्का भयो कि, ‘आरकम’ को फाइबर अप्टिक नेटवर्क प्रयोग गरेवापत ‘आरआइएल’ ले ‘आरकम’ लाई १२ हजार करोड रुपैयाँ दिनेछ । यसबाट आफ्नै दुरसञ्चार कम्पनीको सुरुवात गर्ने तयारीमा रहेको ‘आरआइएल’ लाई अन्य सामाग्री खरिदमा लाग्ने ठूलो रकम बचत हुने भयो ।

    ‘आरआइएल’ ले आफ्नै ‘अप्टिकल फाइबर’ नेटवर्क बिछ्याउने योजना पनि अगाडि बढाईरहेको थियो । यसै साल ‘इन्फोटेल’ को नाम परिवर्तन गरी ‘रिलायन्स जियो’ बनाइएको थियो ।

    आफ्नो सपना पुरा हुने गरी थप तरक्की गर्न अब मुकेशसँग सबैथोक अब जुटिसकेको थियो । ‘स्पेक्ट्रम’ उनको हातमा आइसकेको थियो । अन्य आवस्यक पूर्वाधार पनि तयार भएको थियो । आफ्नो कम्पनीको नयाँ नाम पनि उनले जुराइसकेका थिए ।

    २७ डिसेम्बर २०१५ का दिन मुकेशले आफ्नो सपना साँच्चिकै साकार पारे । ‘रिलायन्स जियो’ को सुरुवात त्यसैदिन भएको हो । खासमा यो सामान्य खालको सुरुवात मात्र थियो । अर्थात् यसको लाभ (प्रयोग) ‘जियो’ का कर्मचारी र कारोबारीहरुले मात्र लिन सक्थे । तर, केही समयपछि ‘जियो’ ले यसलाई विस्तार गर्यो । २०१६ सेप्टेम्बरदेखि यसको सेवा आम मानिसलाई पनि दिन थालियो ।

    ‘जिया’े सुरुवातदेखि नै यसरी आक्रामक बनेर प्रतिस्पर्धामा आइदियो कि, दुरसञ्चार क्षेत्रका अन्य कम्पनीहरु सुरुमै हायलकायल बन्न पुगे । ‘जिओ’ ले आफ्नो सेवा आम मानिसका लागि सुरुवात गर्नासाथ पहिलो महिनाको शुल्कको पैसा नलाग्ने घोषणा गरिदियो । निशुल्क सुविधा पाउने एक महिने अवधि जब सकियो, उसले फेरि अर्को महिनाका लागि पनि शुल्क छुटमा निरन्तरता दियो ।

    दाजु मुकेशको कम्पनीले दिएको यो छुट अनिल अम्बानीको कम्पनीका लागि मुटुमा किला ठोके सरह भयो । त्यसपछि त उनले आफूलाई टाट पल्टिएको घोषणा गर्नु बाहेक अर्काे विकल्प रहेन ।
    ३७ करोड भन्दा बढी ग्राहकका साथ आज ‘रिलायन्स जियो’ भारतीय दुरसञ्चार बजारको सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । दुरसञ्चार कारोबारीहरुको पंक्तिमा ‘रिलायन्स जियो’ को स्थान विश्वमा तेस्रो नम्बरमा छ । २०२० को अप्रिलसम्म ‘जियो’ लाई करिव ३३ प्रतिसत सेयर बेचेर आरआइएलले डेड लाख करोड रुपैयाँ भन्दा बढी रकम जुटाउन सफल भएको छ । शेयर खरिद गर्नेमा फेसबुक समेत सामेल छ, जसले करिव ४५ हजार करोड रुपैयाँमा ‘जियो’ को १० प्रतिसत शेयर खरिद गरेको छ ।

    यो विशाल लगानी त्यो बेला भएको छ, जतिबेला कोरोना भाइरसले सारा विश्वको अर्थव्यवस्थामाथि नै ‘ब्रेक’ लगाइदिएको छ । यस्तो स्थितिमा समेत मुकेश अम्बानीको कारोबार आशा गरे अनुरुप नै अगाडि बढिरहेको छ ।
    अर्थात् मुकेश अम्बानीको हातबाट एउटा पारशमणि त गुम्यो । तर उनले आफै अर्काे पारशमणि निर्माण गरे । उता अनिल अम्बानीको हातबाट चाहिँ साथमा रहेको पारशमणि पनि गुम्यो । म्याराथनको शोक त अनिललाई अझै होला तर कारोबारको ट्र्याकमा मुकेश अम्बानी अनिल भन्दा कता हो कता बढी उत्कृष्ठ धावक सावित भएका छन् ।

    (सत्याग्रहबाट)


    प्रकाशित :आश्विन २८, २०७७ बुधवार - १९:४१:१८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.