खेल नै नखेली युभेन्टसलाई ३-० को नतिजा-Sutra News

खेल नै नखेली युभेन्टसलाई ३-० को नतिजा

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं–फुटबल खेलमा हार जित वा बराबरीको घटना त सधैँ नै देखिन्छ्न र सुनिन्छन। तर, खेल नै नखेली हार जितको घोषणा भने सायद इतिहासमा कहिल्यै सुनिएको छैन। तर, हालसालै इटालियन लिग सिरी ‘ए’ मा भने यस्तै घटना भएको छ।



लिगको खेल नै नखेलेको अवस्थामा सिरी ‘ए’ले कृष्टियानो रोनाल्डो सम्मिलित युभेन्टसलाई नेपोली विरुद्ध ३–० जितको नतिजा दिएको छ। यो भुलबस दिइएको नतिजा भने होइन।

आखिर के भएको थियो त ?
नेपोलीका तीन खेलाडीमा कोरोना पुष्टि भएपछि ४ अक्टोवरलाई तय भएको खेलमा नेपोलीको टोली युभेन्टसको घर टुरिन भ्रमणमा निस्कन सकेको थिएन। सोही कारण खेल स्थगित गरिएको थियो। तर, अन्तर्राष्ट्रिय ब्रेकपछि पुनः सिरी ‘ए’ सुचारु हुन लाग्दा ‘इटालियन फुटबल फेडेरेसन’ले युभेन्ट्सलाई ३–० को जित दिलाएको हो।

टुरिनमा नेपोलीको टोली नआएपनि युभेन्ट्सले वार्मअपसहित सुरुवाती ११ सार्वजनिक गरेको थियो। तर, नेपोलीका पियोटर जिलेन्स्की र इलिफ इल्माका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो। त्यसपछि नेपोलीका स्थानीय स्वास्थ्य अधिकारीहरुले नेपोलीको उडानमा रोक लगाएको थिए। त्यस कारण नेपोली टुरिन जान सकेको थिएन।

फेडेरेसनले नेपोलीका टोलीलाई तीन चरणमा कोरोना चेक जाँच गराएको थियो। त्यसपछि क्लबका सबै खेलाडीलाई एक्लै बस्न आदेश दिइएको थियो । तर, नेपोलीले भने नियम पालना नगरेको कारणले उक्त नतिजा कार्बाही स्वरुप दिइएको इटालियन संचारमाध्यमले जनाएका छन्।

नेपोलीले टुरिन भ्रमण नगर्ने खवर पठाए पनि युभेन्टसले एक विज्ञप्ति जारी गर्दै आफ्नो टोली नेपोलीविरुद्ध खेल्न तयार रहेको बताएको थियो। तर अपेक्षा अनुसार नेपोली टुरिन नगएपछि रेफ्रीले खेलका लागि निर्धारन गरिएको समयको ४५ मिनेटपछि खेल रद्द भएको घोषणा गरेका थिए।

सिरी ‘ए’ ले अब नेपोलीले सिरी ‘ए’ खेल सक्ने बताएको छ। सिरी ‘ए’ को प्रोटोकलअनुसार टोलीमा थप १३ खेलाडी रहने भएकाले खेल स्थगित नहुने उल्लेख छ। जसमा गोलकिपर पनि छ। बुधबार मात्रै युभेन्ट्सका मिडफिल्डर वेस्टन क्याकेनीलाई कोरोना पुष्टि भएपछि टोली नै आइसोलेसनमा बसिरहेको छ।

त्यस्तै मंगलबार पनि युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना पुष्टि भएको थियो। उनी बुधबारै आफ्नो निजी जेटबाट टुरिन पुगिसकेका छन्। यो नतिजासँगै युभेन्ट्सको ३ खेलबाट ७ अंक पुगेको छ। युभेन्ट्स चौथो स्थानमा रहेको छ। ३ खेलबाटै नेपोली ५ अंकसहित आठौं स्थानमा छ।

तीन चरणको खेल सकिँदा अपराजित रहेको एटलान्टा र एसी मिलान समान ९ अंक जोडेर पहिलो र दोस्रो स्थानमा रहेको छ। सस्सुलो ७ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट