रसायनिक मल कारखाना खोल्न सम्भव छ: कृषि मन्त्रालय-Sutra News

रसायनिक मल कारखाना खोल्न सम्भव छ: कृषि मन्त्रालय

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं– कृषि मन्त्रालयले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सम्भव भएको निष्कर्ष निकालेको छ । कृषि सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा मन्त्रालयद्वारा गठित एक अध्ययन कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको हो ।



कार्यदलले बिहीबार कारखाना खोल्न सकिने मनसायको प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ। कार्यदलको प्रतिवेदनमा नेपालमा रसायनिक मल कारखाना खोल्न सम्भव देखिएको तर विस्तृत प्राविधिक अध्ययन भने जरुरी रहेको औंल्याइएको छ ।

कार्यदलले प्रतिवेदनमार्फत तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव मन्त्रीसमक्ष पेश गरेको छ । नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने अनुमान सुनाउँदै कार्यदलले उल्लेखित प्रविधि उपयुक्त हुने जनाएको हो ।

युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यससँग सम्बन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका प्राविधिक तथा विज्ञसँग छलफल गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।

त्यस्तै कार्यदलले सिमेन्ट कारखानाको कालो धुवाँबाट नेपालमै मल बनाउन सकिने पनि प्रष्ट पारेको छ । प्रतिवेदन बुझ्दै कृषि मन्त्री भुसालले राजनीतिक तहमा मात्र उठ्दै आएको रसायनिक मल कारखाना खोल्ने विषय मन्त्रालयले औपचारिक रुपमा ग्रहण गरेको बताउँदै कारखाना खोल्ने विषय थप प्राविधिक अध्ययन गर्दै तार्किक निष्कर्षमा पुर्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट