विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ-Sutra News

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

टीकापुर– समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो ।



कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ । छ लेन सकड निर्माणाधीन क्षेत्रमा सातवटा टावर र सातवटा टिबलर पोल रहेका छन् ।

यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो ।

हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएको स्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युत्का पोल समयमै व्यवस्थापन नहँुदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीका इञ्जीनियर गगनजङ्ग शाहीले बताए ।

‘एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कारण देशमा लकडाउन हुँदा कामदार घर फर्किए । त्यो समयमा काम निरन्तर गर्न सकिएन’ , इञ्जीनियर शाहीले भने, ‘सकड निर्माणकार्य शुरु भएदेखि नै विद्युत् कार्यालयलाई पोल हटाइदिन आग्रह गरिरहेका छौँ । विद्युत् पोल नहटाएकै कारण काम प्रभावित भएको छ ।’

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट कैलालीको टीकापुर नगरपालिकामा जमरापुलदेखि बसपार्कसम्म छ लेनको सडक निर्माण भइरहेको हो । सडक रमन के एस जेभी धनगढीले रु १३ करोड ८९ लाख १९ हजार ७८६ मा निर्माण गरिरहेको छ । निर्माण कम्पनीले अहिले सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माण गर्ने काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट