बार्सिलोनाका लागि पहिलाजस्तो गोल गर्न सक्दिनँ: मेस्सी-Sutra News

बार्सिलोनाका लागि पहिलाजस्तो गोल गर्न सक्दिनँ: मेस्सी

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं- आजकै दिन अर्थात् १६ अक्टोबर २००४ क्लबका लागि डेब्यु गरेका स्पेनिस फुटबल क्लब बार्सिलोनाका गोल मेसिन लिओनल मेस्सीले पछिल्लो समय आफूले सधैंझैँ गोल गर्न नसक्ने बताएका छन्। उनले यसरी गोल गर्न नसक्नुको कारण पनि खुलाएका छन्। ‘टिवाइसी स्पोर्टस’सँग कुरा गर्दै मेस्सीले आफ्नो पछिल्लो अवस्थाबारे आफूलाई थाहा भएको र आफूले पर्याप्त गोल गर्न नसकेको स्वीकारेका छन्।



नयाँ सिजन सुरु भइकन मेस्सीले बार्सिलोनाका लागि तीन खेलबाट एक गोलमात्रै गरेका छन्। मेस्सीले एक गोल पनि पेनाल्टीमार्फत् गरेका हुन्। ३ खेल पूरा समय खेले पनि उनका नाममा १ गोलमात्रै छ। उता, अर्जेन्टिनी टोलीमा हालै २ खेल खेलेका मेस्सीले त्यहाँ पनि १ गोल पेनाल्टीमार्फत् नै गरे। क्लब र देशबाट गरी उनले नयाँ सिजनको सुरुआतमा ५ खेलबाट २ गोल गरेका छन्। दुवै गोल पेनाल्टीमार्फत् भएका छन्। नयाँ सिजनको सुरुआतमा मेस्सीले सधैंझैँ राम्रो सुरुआत गर्न नसकेको भन्दै समर्थकहरूले निराशा व्यक्त गरिरहेका छन्।

तर, मेस्सीले भने अब बार्सिलोनामा आफूले सधैंभन्दा फरक भूमिका निभाउने भन्दै विगत वर्षहरूजस्तो गोल हुन नसक्ने स्वीकारे। उनले अब गोलका लागि आफ्नो पागलपना विगतमा जस्तो नरहने पनि बताए। उनले आफूले गोलका लागि नखेल्ने बरु टिमलाई फरक ढंगले सघाउन आफूले क्रमशः भूमिका बदल्दै गएको बताएका छन्।

‘पछिल्लो समय मेरो अवस्थाबारे मलाई थाहा छ। अब मसँग विगतमा जस्तो गोलका लागि ठूलो पागलपना छैन,’ मेस्सीले भनेका छन्, ‘म धेरै गोल नगरी पनि टिमलाई फरक ढंगले सघाउन सक्छु। बार्सिलोनामा मेरो भूमिका अब बिस्तारै बदलिँदै जानेछ।’

बार्सिलोनामा १६ वर्षदेखि खेल्दै आएका मेस्सीले हालसम्म ७३४ खेल खेलेका छन्। सोक्रममा उनले ६३५ गोल गर्दै २५६ असिस्ट प्रदान गरेका छन्। उनी बार्सिलोनाका सर्वाधिक गोलकर्ताका साथै सर्वाधिक असिस्टकर्ता खेलाडी पनि हुन्। उनी सक्रिय खेलाडीमध्ये एक हजार गोलमा प्रत्यक्ष सहभागी जनाउने एक्ला खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट