Logo

मंगलवार, कार्तिक ४ गते २०७७

एमसीसीविरुद्ध बोल्दा जो टाउकोमा चोट बोकेर हिँडिरहेछन्

एमसीसीविरुद्ध बोल्दा जो टाउकोमा चोट बोकेर हिँडिरहेछन्

समर्पण श्री

१ कार्तिक २०७७
  • 900
    SHARES
  • एमसीसीविरुद्ध बोल्दा जो टाउकोमा चोट बोकेर हिँडिरहेछन्

    आँखा खुल्दा सामुन्यमा प्रहरीको बर्दी भिरेकाहरू लाठी लिएर घेरिरहेका देखिन्छन्। उनलाई लाग्छ, ‘म प्रहरी नियन्त्रणमा छु।’ बेडमा लम्पसार रहेका उनी अत्तालिँदै भाग्ने प्रयत्न गर्छन्। तर, शरीरका कुनै अंगले साथ दिइरहेका छैनन्। निरीह मान्दै ठानिरहेका छन्, ‘अब तिनीहरूले मलाई टाउकै टाउकामा हान्छन्।’

    झट्ट, उनले एक जना आफ्नो साथी सामुन्यमा देख्छन्।

    हतास मन बल्ल शान्त हुँदै जान्छ। अनि एकैछिन अघि बर्दी लगाएर घेरिरहेका प्रहरी त्यहाँ देखिँदैनन्। त्यहाँ त केवल एप्रोन लगाएर बसेका अस्पतलाका कर्मचारी देखिन्छन्। ‘म त पुलिसकै बीचमा छु भन्ने लागेर तर्सिएको रहेछु। ती त 'वाचम्यान' रहेछन्। जो साथीलाई सामान 'ह्याण्डओभर' गराउँदै थिए,’ त्रासदीपूर्ण क्षण सम्झने प्रयत्न गर्दै उनी सुनाउँछन्। 

    साँझ ५ बजेको हुनुपर्छ। त्यसदिनको आन्दोलनमा सख्त घाइते विद्यार्थी निर्ग नवीनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार हुँदै थियो। टाउको बेस्सरी झम्झमाइरहेको थियो। अरु चोट कहाँ थियो, तत्काल भेउ पाइरहेका थिएनन्। अस्पतालमा छु भन्ने चाल पाइसकेपछि आफूमाथि के भएको थियो, उनी सम्झन खोज्छन्।

    ०००

    २७ जेठ। सरकारले पास गर्न लागेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध उनीहरू माइतिघर मण्डलाको सडकमा ओर्लिएका थिए। निर्ग नवीन नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य। सत्तापक्षकै संगठनमा आफू भए पनि एमसीसीविरुद्ध उनको आवाज बुलन्द थियो। पटक-पटकको आन्दोलनमा सहभागी भई एमसीसीविरुद्ध धावा बोलिरहेका थिए उनी। त्यसदिन विरोधकै क्रममा उनको समूहले निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो। केही प्रदर्शन बिन्दुमा बसिरहने र केही थापाथली क्याम्पसको गेटबाट निस्कने योजना थियो।

    तर, योजनामुताबिक बन्न सकेन। कहाँबाट हो, खबर प्रहरीलाई पुगिसकेछ। ‘ठ्याक्कै गेटमा आएर प्रहरीले एउटा भ्यान रोक्यो। अगाडि बढ्दा हामीमाथि दमन हुन थाल्यो। हामी प्रतिकार गर्दै गयौं,’ उनी भन्छन्। 

    nabin 5.jpg

    प्रहरी दमन बढ्दै गएपछि भाग्नुपर्ने अवस्था सिर्जना भयो। त्यही क्रममा नवीनलाई करिब १२-१४ जना प्रहरीले घरे। उनी अतालिएर बानेश्वरतर्फ भाग्न खोजे। तर प्रहरीको घेराबाट उम्कन सकेनन्। उनीमाथि पिटिन र खेदिन सुरु भयो। पहिलो लाठी टाउकोमा जोडले प्रहार भयो। भाग्दाभाग्दै ढल्मलिएर लर्खराउन थाले। जता-जता खाली छ त्यतै भाग्न त खोज्थे। फेरि दोस्रो प्रहार भइहाल्यो, टाउटोमै। आफूमाथि पहाड बज्रिएझैँ लाग्यो, आँखा बन्द भयो, अचानक सबैतिर अँधेरो छायो। तेस्रो पटकको लाठी अनुभव गर्न नपाउँदै नवीन बेहोस भए। तेस्रो पटक टाउकोमै प्रहार भएपछि उनी ढले। त्यसपछि के भयो थाहा भएन।

    ‘मलाई प्रहरीले भ्यानमा हालेर ट्रमा सेन्टरमा लगेछन्। र, बेवारिसे छाडिदिएछन्। पछि साथीहरू गएर मेरो उपचारमा सहयोग गरेछन्,’ नवीन सुनाउँछन्।

    साँझ होस खुलेपछि नवीनलाई जनरल वार्डमा सारियो। शरीरका सबै ठाउँमा चोट थिए, थीरमा थिएनन् उनी। वार्डमा सारिएपछि पिसाब लाग्यो। साथीको सहारामा ट्वाइलेट जाँदै थिए। अचानक बेहोस भए। झण्डै १५ मिनेटपछि होस खुल्यो।

    nabin 2.jpg

    विस्तारै आफूलाई के-के भइरहेको छ चाल पाउँदै थिए नवीन। हात भाँचिएको थियो। मेरूदण्डको मुनि रगत जमेर डल्ला बनेको थियो। त्योभन्दा ठूलो चोट त टाउकोमा लागेको थियो। जुन प्रहरीले बज्राएको लाठीको परिणाम थियो। ‘लाठी लागेका कारण 'टिस्यु इन्जोरी' भएको रहेछ। यसको नयाँ 'सेल' बन्न तीन महिना जति लाग्छ। तपाईँहरू नआतिनुस्,’ रिपोर्ट थमाउँदै डाक्टरले भनेका थिए।

    कोरोना महामारीका कारण भर्ना हुनुपर्ने बिरामीलाई पनि घर पठाउनुपर्ने अवस्था थियो। उनलाई आरामको लागि घरमै लग्दा उचित हुने सल्लाह डाक्टरले साथीहरूलाई दिए। 

    त्यसपछि साँझ १० बजे उनी अस्पतालबाट डिस्चार्ज भए। कोठा छेउमा आइपुगेका मात्र के थिए, अचानक फेरि बेहोस भए। उनीसँग भएका दाइ, बहिनी र साथीहरू पुनः अतालिए। कोठा नपुर्‍याइ उनलाई अस्पतालतिर दगुराउनु पर्‍यो।

    त्यसदिन अस्पतालमै राखियो। भोलिपल्ट १२ बजे अस्पतालले डिस्चार्ज गरिदियो। होस खुल्दा नवीनको आँखामा पुलिस, लाठी र टाउकोमा हानिरहेको दृश्यमात्र नाचिरहेको थियो। डिस्चार्ज भएर कोठामा ल्याउँदा पनि उनमा त्यही दृश्यले त्रसित बनाइरहेको थियो। साथीहरूले सोचिरहेका थिए अब सामान्य हुन्छ। सुधार हुँदै जान्छ। तर, सुधार देखिन नपाउँदै उनी साँझ ५ बजे फेरि बेहोस भए। यसपटक उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरोमा लगियो।

    nabi n 4.jpg

    त्यहाँ उपचारपश्चात् १२ बजे डिस्चार्ज गरियो। डाक्टरले ‘कोठामै आराम गराउन’ सल्लाह दिए। केही दिन त नवीनको कोठामा चुलो पनि बलेन। बहिनी दीपा (सामाजिक अभियन्ता दीपा जैसी) आन्दोलनमा स्वयं घाइते थिइन्। दाइले बाहिरबाट प्याकिङ फुड ल्याउँथे। विस्तारै औषधिले 'स्ट्रेस' कम गर्न र 'टिस्यु रिफर्म' गर्न सहयोग गर्‍यो। डिस्चार्ज गरेको भोलिपल्ट दुई जना डाक्टरले (मानसिक स्वास्थ्य र फिजिकल स्वास्थ्यका डाक्टर) जाँचसमेत गरे।

    ‘त्यतिबेला मलाई उठ्दाखेरी टाउको झम्झम् हुने र रिंगटा चल्न छाडेको थिएन। आँखाले मधुरो देख्नेजस्तो भइरहेको थियो,’ नवीन सम्झिन्छन्। डाक्टरले 'स्ट्रेस' हुने खालका भिडियो नहेर्न र 'स्ट्रेस' नलिन सुझाएका थिए। झण्डै २३ दिनसम्म उनी बेडमा रहे। नियमित अस्पताल आउने जाने भइरह्यो। हरेक तेस्रो दिन नियमित फलोअपका लागि साथी र डाक्टरको सहारामा अस्पताल धाइरहे।

    ०००

    हुन त अभिव्यक्ति स्वतन्त्रता नागरिकको हक हो। तर, निर्मम घटनाका प्रशस्त उदाहरण केलाउँदा यो हक संविधानका अक्षरमा मात्र बन्दी छन्। चाहे नागरिक अधिकारका विषय हुन् वा राष्ट्रिय स्वार्थ। सत्ताको दमन सहन हर नागरिक अभिषप्त छन्। नवीन त्यसैको शिकार हुन्। फरक मतकै कारण क्रूरता सहन बाध्य छन्।

    स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ओम्नीसँगको सम्बन्ध बाहिरिएपछि संगठनका केही साथीहरूलगायत उनीहरू फेसबुकमार्फत् यसविरुद्ध बोल्न सुरु गरेका थिए। लिपुलेक र लिम्पियाधुराको मुद्दामा पनि राष्ट्रियताको विषयमा बोल्दै उनी सडकमा ओर्लिएका थिए। त्यतिबेला पनि उनीलगायत अभियन्ताहरु पक्राउ परे। प्रहरी दमनमा परे। सीमाकै विषयलाई अन्तर्राष्ट्रियकरण गर्दा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरे उनीहरूले। त्यसको परिणाम प्रहरीको निर्मम कारबाहीमा समेत परे।

    उसो त त्यसबाहके अन्य सामाजिक अभियानमा पनि नवीनका आवाज बुलन्द थिए । अघिल्लो साल सरकारले पुस्तकमा लगाएको करविरुद्ध पनि नवीन रचनात्मक आन्दोलनमा सक्रियतापूर्वक जोडिएका थिए।

    एमसीसीविरुद्ध भने अघिल्लो सालदेखि नै उनीहरू आन्दोलित थिए। त्यसबेला मार्क्ससिस्ट आउटलुकको ब्यानरमा उनीहरूले माइतीघर मण्डला गएर सांकेतिक प्रदर्शन गरेका थिए।

    यही क्रममा एमसीसी पास गर्न हुन्न भन्ने मागका साथ उनीहरू विभिन्न चरणमा आन्दोलन र र्‍यालीमा उत्रिए। यही क्रममा गत २७ जेठमा उनी घाइते भएका हुन्।

    ०००

    उनी अहिले पटक-पटक अचेत हुन्छन्। पछिल्लो समय ८ असोजमा उनी बेहोस भएका थिए। यही समस्याले उनी पहिलेजस्तो न बोल्न सक्छन्, न स्वस्थ रहन नै।

    व्यक्तिगत स्वार्थका लागि उनी सडकमा गएका थिएनन्। राष्ट्रिय मुद्दाको विषयमा बोल्ने क्रममा सत्ताबाट आफूले यो उपहार पाएको ठान्छन् उनी।

    नियमित अस्पताल जाँदा र औषधिमा हुने खर्च धान्न निकै समस्या छ नवीनको परिवारलाई। यसमा न उनी निकट पार्टीको सहानुभूति छ, न संगठनको सहयोग। व्यक्तिगतरुपमा साथीहरूले सहयोग गरे। एकपटक साहित्यकार निभा शाह र सञ्जीव उप्रेतीले १० हजार सहयोग गरेका थिए। केही सहयोग डाक्टरहरूमार्फत् पाए। बाँकी दाजु र बहिनीले नै खोजेर धानिरहेका छन्। पैसा नभएका कारण कतिपटक अस्पताल जान नै समस्या भएको थियो। परिवारले पनि पैसा पठाउनसक्ने स्थिति छैन। ‘बुबा इण्डिया हुनुहुन्छ। उहाँ इण्डियामा चौकीदारी गर्नुहुन्छ। ६० वर्ष पुग्दा त त्यहाँ गएर चौकीदारी गर्नुहुन्छ भने परिवारको स्थिति कस्तो होला,’ उनी गम्भीर हुँदै भन्छन्।

    पैसा नभएर कतिपटक त औषधि नै रोकिएको थियो नवीनको। ‘डाक्टरले 'पेस्क्रिप्सन'मा एकैपटक ५ दिनको औषधि लेख्थे। हामीले दुई-दुई दिनको औषधि किनेर खाइरहेका थियौं,’ उनी भन्छन्। आर्थिक अभावकै कारण सकेजस्तो उपचार पाउन सकिरहेका छैनन् उनले। ‘एकपटक 'एमआरआई' गरेर हेर्न पाए हुन्थ्यो। त्यतिगरे ढुक्क हुन्थ्यो। यति ठूलो चोट लाग्दा पनि 'सिटीस्क्यान'मात्र भएको छ। त्यति गर्ने पैसा पनि जोगाड गर्न सकिएको छैन,’ उनी निराश मुद्रामा बोल्छन्।

    nabin 6.jpg

    पहिलेजस्तो नवीन निरन्तर बोलिरहन सक्दैनन्। एमसीसी आन्दोलनको पहलकर्ताको रुपमा अलि बढी नै कुरा राख्नुपर्ने हुन्छ। कुरा राख्ने क्रममा बोल्दा बोल्दै रोकिन्छन्। राष्ट्रिय महत्वको विषय अहिले बोलिएन भने पुस्ताले के भन्ला भनेर हुटहुटी लागिरहन्छ उनलाई। बोलिएन भने इतिहासमा कलंक भइन्छ ठान्छन्। उनको तर्क छ, एमसीसी इस्ट इण्डिया कम्पनीको नयाँ रुप हो। यसले देशलाई खर्लप्पै खान्छ।

    ‘यो अहिले हाम्रो औपनिवेशिक स्रोत साधनको दमनको लागि अमेरिकाको 'प्रोजेक्ट लन्च' गरिँदैछ। योसँग उसको सामरिक र स्रोत साधनसँगको इन्ट्रेस्ट छ। नेपालमा हामीसँग जति स्रोत छ त्यसको दमनमा लागिरहेका छन्,’ उनी गम्भीर भावमा भन्छन्, ‘इण्डोप्यासफिक रणनीतिअन्तगर्तको सुरक्षा रणनीतिको पक्षधरतामा हामीलाई लगिँदैछ। यो विषयमा अहिले नबोले कहिले बोल्ने?’

    यो विषयमा बोल्दा उल्टै संगठनका साथीहरू उनीबाट टाढा भए। घाइते भएको यतिका दिनसम्म पनि संगठनका अध्यक्षले 'म्यासेज'समेत नगरेको उनको गुनासो छ। पहिला वैचारिक र भावनात्मकरुपमा नजिक साथीहरू पनि सहयोग गर्नुको साटो टाढा-टाढा भागिरहेका छन्।

    घरबाट राजनीति छाड्न उतिकै दबाब आइरहेको छ। ‘घरमा भाउजु, आमाले पहिला राजनीति गर्न उत्साह थपिदिनुहुन्थ्यो। तर, घाइते भएयता उहाँहरू आतिनुभएको छ। छाड्न दबाब आइरहेको छ,’ उनी सुनाउँछन्। 

    ०००

    घाइते शरीरको पीडा त उनमा छँदैछ। त्यसपछिका त्रासदीले पनि नवीनलाई पछ्याइरहेका छन्। प्रहरी प्रशासनले अझै पनि दुःख दिन छाडेको छैन। विस्तारै हिँड्न थाल्दै थिए नवीन। साँझ ७ बजे,  एकदिन बागबजारमा चिया पिएर डेरा फर्कँदै थिए। अचानक उनको सामु प्रहरीको भ्यान रोकियो। निमेषभरमै उनलाई तानेर भ्यानमा हालियो। अज्ञात व्यक्तिले आँखामा कालो पट्टी बाँधिदिए। उनी अतालिए। ‘पक्राउ पूर्जी नभई मलाई किन पक्राउ गरेको? कहाँ लैजान लागेको?’ उनी यति भन्दै चिच्याए। कोही बोलेनन्। भ्यान तीव्र गतिमा दौडियोमात्र। ठाने, ‘मेरो दिन यति नै रहेछ।’

    ८ बज्दा उनलाई हनुमानढोकामा झारियो। पट्टी खोलियो। वरिपरि सबै सिभिल ड्रेसमा थिए। को हो ठम्याउन सकिन्न थियो। एक घण्टाजति त्यहाँ राखेपछि उनीमाथि सोधपुछ भयो। उनको परिचय माग्ने काम भयो। आफू अनेरास्ववीयुको केन्द्रीय सदस्य भएको बताएपछि उनलाई 'सरी' भन्दै ती अधिकारीले माफी मागे, ‘माफ गर्नुहोला। हामीले विप्लव समूहको होला भनेर तपाईँलाई ल्याएको हो। सूचीमा रहेकामध्ये तपाईँ हो कि ठानेर। गलत परेछ। यो कुराको मिडियाबाजी नगर्नुहोला।’

    त्यसपछि उनलाई छाडियो।

    घटना त्यतिमा मात्र सकिएको छैन। अहिले पनि उनलाई पछाडि कोही सिआइडी खटाएको भान हुन्छ। ‘म बीचमा सारंगी क्लास जान्थें। त्यहाँ पनि सिआइडीहरू पुग्न थाले। कति त पछि चिनिन पनि थाले। अनेरास्ववियुका कति घोषित नेताहरू पनि सिआइडी बनेर पिछा गर्न थाले,’ उनी भन्छन्, ‘त्यसैले सपनामा पनि त्रासदीमात्र भोग्छु।’

    ०००

    उनको घर बाजुरा। सानोमा सरकारी स्कुल पढ्ने क्रममा उनलाई एउटा कुराले निकै नमीठो लाग्थ्यो, ‘हामीभन्दा बोर्डिङमा पढ्नेहरू राम्रा कपडा लगाएर हिँड्छन्। उनीहरू हामीभन्दा बढी सुखी छन्।’ सधैं बोर्डिङ स्कुल पढ्नेहरूबीच आफूलाई असमान देखिरहने नवीन एकदिन खुसी भए। कारण, ती साथीहरू पनि आफू पढेको सरकारी स्कुलमै पढ्न थाले। बोर्डिङ स्कुल एउटा संगठनले बन्द गराएछ। यसरी समानता कसले दिलायो भनेर खोज्ने क्रममा थाहा पाए, बन्द गराउने माओवादीको विद्यार्थी संगठन रहेछ। त्यसदिनबाट उनले बुझ्न थाले, राजनीतिक विचार हुनेरैछ,  संगठन हुनेरैछ। त्यसले परिवर्तन ल्याउने रहेछ।

    त्यसदिनदेखि उनी त्यो संगठनसँग नजिक भए।

    तर, उनी त्यही संगठनको पार्टीबाट अहिले आजित छन्। सत्ताबाट निरास छन्। हिजो जे देखेर संगठनमा लागे, त्यो कुरा रत्तिभर पाउँदैनन्।

    उनमा एउटा प्रश्न छ, हिजो माओवादी सानो पार्टी थियो। सय जना पनि नहुँदा वैदेशिक हस्तक्षेपविरुद्ध सुरुङ युद्ध घोषणा गर्ने कमरेड प्रचण्ड अहिले किन मौन छन्? ‘अहिले लाखौं कार्यकर्ता र सरकारै आफ्नो हुँदा किन एमसीसी संशोधन गरेर पारित गर्न खोजियो?’

    उनी प्रचण्डलाई भेटेरै यो प्रश्न गर्न चाहन्छन्, ‘कुन कुराले तपाईँ डराउनुभयो कमरेड?’ तर, नवीनलाई थाहा छ, कार्यकर्ताको लागि नेताको दरबार सधैं निषेधित हुन्छ।

    ०००


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - ०८:११:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.