तिलोत्तमा- लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सामान्य रुघा लागेपछि पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको मन्त्री चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
चौधरीसँगै उनकी श्रीमती, पीएसओ, चालक भान्सामा काम गर्ने सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको उनले बताए।
मन्त्री चौधरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन्। संक्रमित पाँच जनामध्ये मन्त्री चौधरीले आफूलाई रुघा लागेको र अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको समेत जनाएका छन्। उनी होम आइसोलेसनमा छन्।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सांसद, प्रदेशसभाका केही कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतमा संक्रमण पुष्टि भएको थियो।